शैलेन्द्र रोकाया
बझाङ, जेठ २४ गते । बझाङको खप्तडछान्ना गाउँपालिकामा–३ का छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वडा कार्यालय नजिकै रहेको मेल्तडी माविको क्वारेन्टाइनमा बसेका छ जनामा कोरोना पुष्टि भएसँगै जिल्लाभित्र सङ्क्रमितको सङ्ख्या सात पुगेको छ ।
शुक्रबार साँझ कोरोना पुष्टि हुनेमा खप्तड छान्ना गाउँपालिकाका ७०, ५७, ३८, २५ वर्षीय पुरुष र २ जना ४० वर्षका महिला रहेका छन् । उहाँहरूमध्ये पाँच जना जेठ १५ गते भारतको दिल्लीबाट आएको र एक जना २५ वर्षीय पुरुष २ हप्ताअघि काठमाडौँबाट बझाङ भित्रिएको जिल्ला अस्पतालका कोरोना फोकल पर्सन डा. मिलन खड्काले बताउनुभयो ।
खड्काका अनुसार बुधबार मेल्तडी माविको क्वारेनटाइनमा रहेका १४ जना र सोही वडाको भाग्योदय निमाविको क्वारेन्टाइनमा रहेका चार जना गरी २० जनाको स्वाब सङ्कलन गरी सुदूरपश्चिम प्रादेशिक प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो । सङ्क्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । शनिबार जिल्ला अस्पतालको डाक्टरसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ । वडा अध्यक्ष मङ्गल सुनारले भन्नुभयो, 'हाल सङ्क्रमित देखिएको क्वारेन्टाइनमा ६७ जना रहेको र वडाभित्र एक टोलबाट आर्को टोल नजान सबैलाई सचेत गराएका छाैँ ।'
सङ्क्रमितहरूलाई खप्तडछान्ना गाउँपालिकाले नै बनाएको आइसोलेसनमा राखिने भएको छ । हाल खप्तडछान्ना गाउँपालिका भर ३५० जना क्वारेन्टाइनमा बसिरहेका छन् । त्यस्तै जिल्लामा हाल सम्म १७४२ जनाको आरडिटी र २६१ जनाको पीसीआर परीक्षण जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन नारायण जोशीले बताउनुभयो । उहाँले हाल जिल्लाका सबै स्थानीय तहका १६९ जना क्वारेन्टाइनमा तीन हजार दुई जना रहेका समेत बताउनुभयो । योसँगै सात जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।