जयकृष्ण यादव
इनरुवा, जेठ २४ गते । सुनसरीको धरान उपमहानगरपालिका–१७ एन्फा टेक्निकल सेन्टरको क्वारेन्टिनमा रहेका ३० वर्षीय युवामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । जेठ १९ गते भारतको मुम्बईबाट धरान आइपुगेका उनीसहित तीन जनालाई एन्फाको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा ४५ जना मध्ये बिहीबार स्वाब संकलन गरी परीक्षण गर्ने क्रममा धरान–१७ फोकल्याण्ड टापु स्थायी घर भएका ३० वर्षीय युवामा कोरोना भेटिएको धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई ‘मनोज’ ले जानकारी दिनुभयो ।
कोरोना देखिएपछि उहाँलाई तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा लगिएको छ । उहाँ सहित तीन जनाको टोली आइपुगेकोमा एउटै कोठामा ४ जना बस्दै आएका थिए । बाकी सबैको रिपोर्ट संक्रमण नभएको (नेगेटिभ) आए पनि रिकन्फर्मका लागि पुनः तीन जनाको स्वाब लिएको वडाध्यक्ष भट्टराईले जानकारी दिनुभयो । उता धरानको बीपीमा हाल ९५ जना संक्रमित उपचाररत रहेका छन् । यसैबीच धरान १७ को एन्फा क्वारेनटाइनमा बसेका ४१ जनालाई सनिबार डिस्चार्ज गरिएको छ ।
शनिबार विहान क्वारेनटाइन व्यावस्थापन समितिको बैठकले सो निर्णय गरेको एन्फा क्वारेनटाइन व्यावस्थापन समितिका सदस्य सचिव एवं १७ नम्वर वडा सचिव शिशिर श्रेष्ठले जानकारी दिनुभयो ।
क्वारेनटाइनमा बसेकाहरुको पिसिआर रिपोर्ट नेगेटिभ आए पछि उनीहरुलाई होम क्वारेनटाइनमा पठाएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताउनुभयो । मेहताका अनुसार एक जनामा कोरोना पोजेटिभ रिपोर्ट आएकोले उनीसंगै आएका र संगै कोठामा बसेका ३ जनालाई भने डिस्चार्ज गरिने छैन ।