प्रदेश ५ ब्यूरो
बुटवल, जेठ २५ गते । कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहेको प्रदेश ५ मा कोरोनालाई जितेर फर्किनेहरू पनि बढिरहेको छ । सङ्क्रमित बढेपछि क्वारेन्टाइन र आईसोलोसन विस्तार भईरहेको यहाँ आइतबार पनि बाँके, रुपन्देही, दाङलगायतका जिल्लाहरूबाट सङ्क्रमितहरू कोरोना जितेर फर्किए । बुटवलको एन्फा एकेडेमीमा सञ्चालन भएको आइसोलेसन सेन्टरबाट पहिलो पटक नौ जना निको भएर घर फर्किनुभयो । यो एकेडेमीमा अझै ३२ जना उपचाररत हुनुहुन्छ । आइतबार नै दाङमा दश जना सङ्क्रमित कोरोनामुक्त भएर घर फर्किनुभयो ।
नरैनापुरका ३० जना घर फिर्ता
बाँके र नेपालगञ्ज समाचारदाताका अनुसार कोरोना सङ्क्रमणको हिसाबले हट स्पटको रुपमा देखिएको बाँकेको नरैनापुर गाउँपालिकामा ३० जनाले कोरोना जितेर डिस्चार्ज हुनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबार नरैनापुरका पाँच जना डिस्चार्ज हुनुभएको छ । नरैनापुरमा एक जना मृतकसहित ११८ जनामा सङ्क्रमण देखिएकोमा ३० जना विभिन्न अस्पतालमा उपचार भई घर फिर्ता हुनुभएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेशमान श्रेष्ठले जानकारी दिनुभयो ।
नरैनापुरका सङ्क्रमितको बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, नेपालगञ्जस्थित लायन्स डेन्टल अस्पतालसहित बाँकेको खजुरा कृषि तालिम केन्द्र र कोहलपुरको कृषि विकास बैङ्कको सभाहलमा निर्माण गरिएको एकान्तवास केन्द्रमा राखेर उपचार भइरहेको छ । दाङको बेलझुण्डीमा उपचारका लागि लगिएका सबै आठ जना उपचारपछि घर फिर्ता हुनुभएको छ ।
कोहलपुरको कृषि विकास बैङ्कको सभाहलको एकान्तवास केन्द्रमा रहेका मध्ये आठ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई पनि डिस्चार्जको तयारी गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सो केन्द्रमा नरैनापुरका ४१ जनालाई राखिएको दुई साता पुगेपछि स्वाब सङ्कलन गरिएको हो । सबैको स्वाब परीक्षण सम्पन्न भएपछि नेगेटिभ रिपोर्ट आउने सबैलाई डिस्चार्ज गरिने भएको छ ।
उपचारपछि खुसी हुँदै घर
तुलसीपुर समाचारदाताका अनुसार दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा उपचारत दश जना कोरोना सङ्क्रमित सन्चो भएर घर फर्कनुभएको छ । घोराही उपमहानगरपालिका एक जना, गढवा गाउँपालिकाका एक जना बाँके नरैनापुर गाउँपालिकाका पाँच जना कपिलवस्तुका दुई जना र बर्दियाका एक जना हुनुहुन्छ । दशै जनालाई सम्बन्धित पालिकामा पठाइएको छ । अस्पतालमा अब ४५ जना उपचाररत रहेको अस्पतालका हेल्थ असिस्टेण्ट द्रोण वलीले जानकारी दिनुभयो । यसअघि आठ जना उपचारपछि घर फर्किसक्नुभएको छ । अस्पतालबाट हालसम्म १८ जना घर फर्किसक्नुभएको छ । अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य रहेको अस्पतालका असिस्टेण्ट द्रोण वलीले जानकारी दिनुभयो । यता प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले उपचारपछि सन्चो भएर घर फर्कनुभएकालाई बधाई ज्ञापन गर्नुभएको छ ।
बढाइँदै आइसोलेसन कक्ष
बुटवल समाचारदाताका अनुसार रुपन्देहीको सैनामैना नगरपालिकामा एकैपटक १८ जनामा कोरोना सङ्क्रमण देखिएपछि सैनामैनाको वनकट्टास्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयलाई आइसोलेसन सेन्टरको रुपमा व्यवस्थापन गरिएको छ । उक्त सेन्टरमा कोरोना पोजिटिभ देखिएका १८ जना र पीसीआर नतिजा पर्खाइमा रहेका २० जना सुरक्षित साथ रहेको नगरपालिकाका स्वास्थ्य संयोजक हेमराज पन्थीले जानकारी दिनुभयो ।
एकजना चिकित्सक समेतको स्वास्थ्यकर्मी टोली कार्यरत रहेको उक्त आइसोलेसन सेन्टरमा हाल कपिलवस्तुका एक कर्मचारीबाहेक सबै भारतबाट आएका रहेको स्वास्थ्य संयोजक पन्थीले बताउनुभयो ।
यसैबीच उच्च अदालत बार एशोसिएसन बुटवलको टोलीले रुपन्देहीका विभिन्न आइसोलेसन सेन्टर र क्वारेन्टाइनहरूमा गरेको अनुगमनको क्रममा अधिकांश क्वारेन्टाइनमा बसेकाहरूलाई आरडीटी टेष्टकै भरमा घरमा पठाउने गरेको पाइएको जनाएको छ ।
११ हजार नेपाली स्वदेश भित्रिए, दैनिक एकहजार भारतीय बाहिरिए
भैरहवा समाचारदाताका अनुसार सुनौली नाका हुँदै दुई सातायता ११ हजार सात सय ४४ नेपाली स्वदेश भित्रिएका छन् । केही दिन यता नेपालीहरू भित्रिने क्रम बढेको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ । भारतका विभिन्न ठाउँमा रोजगारीको सिलसिलामा गएका ती नेपाली जेठ १० गतेयता भित्रिएका हुन् । यो अवधिमा नेपालबाट भारत जाने भारतीय नागरिकहरूको सङ्ख्या १३ हजार १९८ रहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक इश्वरी भट्टरार्यले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नेपालबाट भारततर्फ जानेको सङ्ख्या पनि दिनहुँ बढ्न थालेको छ ।
नेपालबाट दैनिक एक हजारभन्दा बढी भारतीय नागरिक भारततर्फ प्रवेश गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले बताउनुभयो । विभिन्न ईंटाभट्टालगायत उद्योगधन्दामा काम गर्ने भारतीय मजदुरहरू आफ्नो देश फर्किएको खत्रीले जानकारी दिनुभयो ।
नेपाल भित्रिएका नागरिकलाई भने विभिन्न स्थानीय तहहरूले सवारी साधनको व्यवस्थापन गरी आफ्नो क्षेत्रमा लगेर क्वारेन्टाइनमा राख्ने गरेको प्रहरी नायब उपरीक्षक खत्रीले बताउनुभयो ।
यसअघि नेपाल र भारत दुवैतर्फ क्वारेन्टाइन अवधि पूरा गरेकालाई मात्र आआफ्नो देश लैजाने गरिएकोमा अहिले भने सम्बन्धित देशकै क्वारेन्टाइनमा राख्ने गरी आफ्नो देशका नागरिक भित्र्याउने गरिएको हो ।
सबै तहमा आइसोलोसन
तानसेन समाचारदाताका अनुसार पाल्पा जिल्लाका दश स्थानीय तहले आइसोलेसन कक्ष बनाउनुपर्ने भएको छ । जिल्लास्थित सीसीएमसीको बैठकले दश वटै स्थानीय तहमा कोरोना सङ्क्रमित व्यक्तिको उपचार गर्न आइसोलेसन कक्ष बनाउने निर्णय गरेको हो ।
कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि पाल्पाका दश वटै स्थानीय तहले व्यवस्थित आइसोलेसन बनाउने निर्णय भएको हो । सङ्क्रमित व्यक्त्ति लाई छुट्टै राखेर उपचार गर्न र स्वास्थ्य अवस्था गम्भीर भए जिल्लास्थित अस्पतालमा रिफर गर्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञश्वर पन्थीले जानकारी दिनुभयो । पाल्पामा हालसम्म दुई हजार बढी कक्षको क्वारेन्टाइन निर्माण भएको छ । हालसम्म भारतबाट आएका एक हजार पाँच सय बढी क्वारेन्टाइनमा रहेका छन् ।