शिवराज ढुंगाना
अछाम, जेठ २६ गते । भारतबाट आएर क्वारेन्टाइनमा रहेकी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । चौरपाटी गाउँपालिका–५ निवासी२५ वर्षकी निर्मला खड्कालाई सोमबार वयलपाटा अस्पतालबाट उद्धार गरिएको प्रमुख जिल्लाअधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।
आठ महिनाकी गर्भवती निर्मलालाई थप उपचारकालागि हेलिकप्टरबाट उद्धार गरेर कोहलपुर ल्याइएको बताइएको छ । भारतबाट आएर ११ दिन अघिबाट सोही वडामा रहेको दयापिलतोला माविको क्वारेन्टाइनमा रहेकी निर्मालाको पेट दुख्ने र सुन्निने समस्या देखिएपछि शनिबार वयलपाटा अस्पताल ल्याइएको थियो । “आन्द्रा ब्लक भएर पेट फुलेको छ ।” वयलपाटा अस्पतालका जनस्वास्थ्यप्रमुख डा. विकास गौचनले भन्नुभयो । उक्त अस्पतालका डाक्टरले पेटमा बच्चा रहेको र आन्द्रामा घाउ भएकोले जिल्ला बाहिर लिन आइतबार नै रिफर गरेका थिए ।
“सिम्रिक एयरको हेलिकप्टरबाट निर्मलालाई उद्धार गरिएको प्रजिअ पौडेलको भनाइ छ । निकै लामो प्रयास पछि हेलिकप्टरबाट उद्धार गरिएको छ ।” गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँदले भन्नुभयो । “मान्छे त बचाउनुपर्यो भनेर हिजोदेखि नै प्रयासमा थियाँै ।”क्वारेन्टाइनमा रहेकी निर्मलाको आरडिटी परीक्षणमा कोरोना संक्रमण नेगेटिभ देखाएको छ । भारतबाट घर फर्कने भन्दाअघि पेटमै समस्या आएर उपचार भएको निर्मलाका पति राम खड्काले जानकारी दिनुभयो । निर्मलाका पति पत्नी साथमै आएर क्वारेन्टाइनमा बसिरहनुभएको थियो ।
एक महिनाको अवधिमा अछामबाट तीन जना सुत्केरी तथा गर्भवतीमहिलाको हेलिकप्टरबाट हालसम्म उद्धार गरिएको छ । यसअघि रामारोशनगाउँपालिका–६ की सुत्केरी र तुर्माखाँद गाउँपालिका निवासी सुत्केरी यूवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । रामारोशन गाउँपालिकाकी सुत्केरीको कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको थियो ।