तारा चापागाईं दुवे
पोखरा, जेठ २६ गते । कोरोना सङ्क्रमणका कारण मृत्यु भएका स्याङ्जा वालिङका ६० वर्षीय पुरुषको शव अहिलेसम्म पनि उठाइएको छैन । मृत्यु भएको १७ घण्टा हुँदा पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रहेको छ । शवसँगै अन्य तीनजना कोरोना सङ्क्रमित पनि सोही वार्डमा छन् । शव व्यवस्थापनमा ढिलाइ भएपछि उपचारत अन्य सङ्क्रमित र उहाँका आफन्तहरू चिन्तित छन् ।
यस विषयमा जिज्ञासा राख्दा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले शव गाड्ने जमिन खोज्ने काम भइरहेको बताउनुभयो । स्रोतका अनुसार महानगरपालिकाले रोजेको ठाउँमा स्थानीयहरूले शव गाड्न नदिने भन्दै विरोध जनाएपछि अझै कहाँ लैजाने भन्ने टुङ्गो लाग्न सकेको छैन ।
कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालका अनुसार नेपाली सेनाको विजयपुर ब्यारेकका लेफ्टिनेन्ट कर्णेल विजयदेव कुँवरले फुलबारी ब्यारेकको भगवती दल गणले शव व्यवस्थापनको समन्वय गर्ने जिम्मा लिएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले कोरोना सङ्क्रमितको मृत्यु भएपछि पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुखहरूलाई हिजो नै खबर गरेको बताउनुभयो ।
मृतकका पोखरामा भएका आफन्तहरू विहानैदेखि आईसोलेसन वार्ड बाहिर छन् । उहाँको श्रीमती र छोरीलाई क्वारेनटाईनमा राखिएको छ ।