लक्ष्मण पौडेल
भैरहवा, जेठ २६ गते । रुपन्देहीको बेलहिया नाका भएर सोमबार करिब साढे पाँच सय नेपाली नेपाल भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार बेलहिया नाकाबाट सोमबार मात्रै १४ सय भारतीयहरू भारत प्रवेश गरेका छन् ।
नेपाल भित्रिएका नेपालीहरूलाई सम्बन्धित जिल्लामा समन्वय गरी पठाइएको र आफ्नो जिल्ला जान नपाएकाहरूलाई भैरहवामै क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक इश्वरी भट्टराईले जानकारी दिनुभयो ।
भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएका नेपालीहरूको कोरोना महामारीका कारण भारतमा खानबस्न समस्या भएपछि घर फर्कने क्रम बढेको छ । दिन प्रतिदिन ठूलो सङ्ख्यामा नेपालीहरू स्वदेश फर्कन थालेपछि स्थानीय तहलाई क्वारेन्टाइनको व्यवस्थापन गर्न समस्या पर्ने गरेको छ ।