शालिग्राम नेपाल
चितवन, जेठ २७ गते । कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका भरतपुर – ११ का ६८ वर्षीय पुरुषको देवघाटनजिकै बागेश्वरी जङ्गलमा दाहसंस्कार गरिएको छ ।
नेपाली सेनाको भरतपुरस्थित कालिबहादुर गणबाट खटिएको सेनाको टोलीले शव व्यवस्थापन गरेको हो । परिवारजनको उपस्थितिमा जातीय परम्परा अनुसार खाल्डो खनी गाडेर शवको व्यवस्थापन गरिएको जनाइएको छ । कोरोना सङ्क्रमणको जोखिम हुने भएकाले स्वास्थ्य सुरक्षा सतर्कताका लागि शव व्यवस्थापनको जिम्मेवारी सेनालाई दिइएको हो ।
मुटु रोगपीडित भएका पुरुष शुक्रबार नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचार गर्न आउनुभएको थियो । अस्पतालले शङ्का लागेर कोरोना परीक्षण गर्न पठाएपछि सोमबार मात्रै उहाँलाई कोरोना लागेको पुष्टि भएको थियो । मुटुसम्बन्धी समस्या भएर आइसीयुमा राखेर उपचार गराइराखेका बिरामीलाई नारायणी सामुदायिक अस्पतालले साँझ भरतपुर अस्पतालमा जबरजस्ती पठाएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिनुभयो ।
नारायणी सामुदायिक अस्पतालका निर्देशक डा. भक्तमान श्रेष्ठले कोरोना लागेपछि सरकारी अस्पतालमा पठाउनुपर्ने नियम भएको कारण पठाइएको बताउनुभएको छ ।
सोमबार भरतपुर अस्पतालमा ल्याइएका ती पुरुषलाई आइसीयुमा राखेर उपचार गराउँदैगर्दा मङ्गलबार बिहान मृत्यु भएको थियो । अहिले दुवै अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरू क्वारेन्टाइनमा बसेको सम्बन्धित अस्पतालले जनाएको छ ।