लक्ष्मण पौडेल
भैरहवा, जेठ २७ गते । रुपन्देहीको बेलहिया नाका भएर मङ्गलबार ३०३ नेपाली स्वदेश भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार बेलहिया नाकाबाट मङ्गलबार मात्रै १४ सय ५७ भारतीयहरू भारत प्रवेश गरेका छन् ।
नेपाल भित्रिएका नेपालीलाई सम्बन्धित जिल्लामा समन्वय गरी पठाइएको र आफ्नो जिल्ला जान नपाएकाहरूलाई भैरहवामै क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक इश्वरी भट्टराईले जानकारी दिनुभयो । विभिन्न इटाभट्टालगायत उद्योगधन्दामा काम गर्ने भारतीय मजदुरहरू आफ्नो देश फर्किएको उहाँले जानकारी दिनुभयो ।
भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएका नेपालीहरूको कोरोना महामारीका कारण भारतमा खानबस्न समस्या भएपछि घर फर्कने क्रम बढेको छ । दिन प्रतिदिन ठूलो सङ्ख्यामा नेपालीहरू स्वदेश फर्कन थालेपछि स्थानीय तहलाई क्वारेन्टाइनको व्यवस्थापन गर्न समस्या पर्ने गरेको छ ।
यसअघि नेपाल र भारत दुवैतर्फ क्वारेन्टाइन अवधि पूरा गरेकालाई मात्र आआफ्नो देश लैजाने गरिएकोमा अहिले भने सम्बन्धित देशकै क्वारेन्टाइनमा राख्ने गरी आफ्नो देशका नागरिक भित्र्याउने गरिएको हो ।