logo
२०८१ मंसिर १३ बिहीवार



बिरामीका आफन्तले ढाँट्दा प्रदेश अस्पतालको इमरजेन्सी कक्ष सिल

फिचर |
प्रदेश |


बिरामीका आफन्तले ढाँट्दा प्रदेश अस्पतालको इमरजेन्सी कक्ष सिल


ललित बसेल
सुर्खेत, जेठ २८ गते । सुर्खेतस्थित प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका बिरामी तथा उहाँका आफन्तले ढाँट्दा आकस्मिक कक्षा २४ घन्टाको लागि सिल गरिएको छ । बराहताल गाउँपालिका - ४ को भेरी माविको क्वारेन्टाइनमा बसेका ५० वर्षीय पुरुषलाई सर्पलाई डसेको भन्दै मङ्गलबार उपचार गराउन प्रदेश अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो ।

आकस्मिक कक्षमा उपचाररत रहेका बेला ती पुरुषको मङ्गलबार राती नै पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएपछि आकस्मिक कक्ष २४ घन्टाको लागि सिल गरिएको छ । प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बिरामी तथा उहाँका आफन्तले क्वारेन्टाइनमा बसेको भनेर इमर्जेन्सीमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई जानकारी नदिएका कारण आकस्मिक कक्ष सिल गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार इमर्जेन्सीमा भर्ना गरिएका ती बिरामीलाई कोरोना पुष्टि भएपछि अहिले प्रदेश अस्पतालकै कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको छ । आकस्मिक कक्षमा रहेका पाँच जना चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि आइसोलेसनमा राखिएको जानकारी निर्देशक डा. खड्काले दिनुभयो ।

बिरामी तथा आफन्तले जानकारी नगराउँदा अवस्था तनावपूर्ण भएको छ । निर्देशक डा. खड्काले सही सूचना दिन बिरामी तथा आफन्तहरूलाई आग्रह गर्दै यदि त्यसो नभए अस्पतालले दिइरहेका सबै सेवा बन्द हुनसक्ने चेतावनी दिनुभएको छ । उहाँका अनुसार कोरोना पुष्टि भएका व्यक्तिमा कोरोनाको लक्षण देखिएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?