logo
२०८१ बैशाख १४ शुक्रवार



आरडीटी गरेर घर पठाइएका पाँच जनाको पीसीआर रिपोर्ट पोजिटिभ

फिचर |
प्रदेश |


आरडीटी गरेर घर पठाइएका पाँच जनाको पीसीआर रिपोर्ट पोजिटिभ


जनार्जन खत्री
सर्लाही, जेठ २८ गते । सर्लाहीको हरिवनमा आरडीटी रिपोर्ट नेगेटिभ आएको सात जनाको पीसीआर रिपोर्ट पाेजिटिभ आएको छ ।
हरिवन नगरपालिकाले केही दिनदेखि क्वारेन्टाइनमा बसिरहेका र कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण कार्यमा अग्रभागमा खटिएकाहरूको आरडीटी गराइरहेको छ । त्यस क्रममा हरिवन नगरपालिका–११, स्थित नगरपालिकाको नयाँ भवनमा बनाइएको क्वारेन्टाइनमा बसिरहेकामध्ये एक जनाबाहेक अरु सबैको आरडीटी रिपोर्ट नेगेटिभ आएको थियो ।
आरडीटी नेगेटिभ आएकामध्ये सात जनाको भने पीसीआर परीक्षण गराउँदा पाेजिटिभ रिपोर्ट आएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक शशीकान्त सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार हरिवनबाट जेठ १८ गते २९ जनाको थ्रोट स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमध्ये अहिलेसम्म सात जनामा कोरोना सङ्क्रमण पाइएको हो ।
सङ्क्रमितहरू हरिवन नगरपालिका– २, ३, ४, ८ र ११ नंं. वडाका बासिन्दा हुन् । सात मध्ये आरडीटी रिपोर्ट नेगेटिभ आएपछि पाँच जनालाई घर पठाइएको थियो भने दुई जना पीसीआर रिपोर्ट आएपछि मात्रै घर जाने भन्दै क्वारेन्टाइनमा नै बसिरहेका थिए । पीसीआर रिपोर्ट पाेजिटिभ आएपछि घर गएका पाँच जना फेरि क्वारेन्टाइनमै फर्किएका छन् ।
क्वारेन्टाइनबाट घर आएका व्यक्तिमा सङ्क्रमित पाइएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । सङ्क्रमित सातै जना भारतबाट आएकाहरू हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार हरिवनमा आठ जना सङ्क्रमित फेला परेको तथ्याङ्क सार्वजनिक गरेपनि एक जनाको कन्फर्म हुन बाँकी रहेको स्वास्थ्य शाखा संयोजक सिंहले बताउनु भएको छ ।
सिंहले सङ्क्रमित कसैमा पनि कोरोना भाइरसको लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको समेत बताउनुभयो । सङ्क्रमित सातै जनालाई क्वारेन्टाइन रहेकै भवनमा अरु भन्दा बेग्लै सुरक्षित राखिएको हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेलले बताउनुभयो ।
पीसीआर रिपोर्ट पाेजिटिभ आएका पाँचै जना सङ्क्रमित घर गएपनि समुदायमा घुलमिल नभएको पाइएको उपप्रमुख पौडेलले जानकारी दिनुभयो । आरडीटी नेगेटिभ आएकाहरूलाई घर पठाउँदा केही समय कसैसँग घुलमिल नभई घरमा नै बस्न आग्रह गरेर पठाउने गरिएको नगरपालिकाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?