logo
२०८१ मंसिर १३ बिहीवार



क्वारेन्टाइनमा गर्भवतीलाई खानाको समस्या

पढ्नै पर्ने |
प्रदेश |


क्वारेन्टाइनमा गर्भवतीलाई खानाको समस्या
सांकेतिक तस्विर


गोकर्ण दयाल

बैतडी, जेठ २८ गते । भारतबाट फर्केर २० दिनदेखि स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बसेर पीसीआर परीक्षणको नतिजा कुर्दै बसेकी गर्भवती महिलालाई खानाको समस्या भएको छ ।

बैतडीको मेलौली नगरपालिका–५, महारुद्रकी गर्भवती महिला कल्पना पुजाराल खानाको समस्याबीच पीसीआर परीक्षणको नतिजा पर्खेर बसेको हप्ता दिन बितिसकेको छ । पुजाराको साथमा उहाँका श्रीमान र ६ वर्षीय बालिकासहित एक नातेदार महिला २० दिनदेखि क्वारेन्टाइनमा हुनुहुन्छ ।

क्वारेन्टाइनमा खानाको समस्या हुन थालेपछि भोकै बस्नुपरेको गर्भवती महिला कल्पना पुजारोले पीडा सुनाउँनुभयो । पुजाराले भन्नुभयो, ‘१४ दिन बसेर द्रूत परीक्षण गर्दा पोजिटिभ देखिएको भन्दै पीसीआर परीक्षण गर्न स्वाब लिएर धनगढी पठाएको एक हप्ता भइसक्यो, कुनै रिपोर्ट आएको छैन । क्वारेन्टाइनमा खानबस्न निकै समस्या छ ।’

स्थानीय तहको सरकारले आफैँ दाउरा खोजेर खाना पकाएर खान भनेपछि दाउरा खोजेर खान बनाउन समस्या भएको गर्भवती महिलाका श्रीमान नारायणसिंह पुजाराले बताउनुभयो ।

यो विषयमा स्थानीय मेलौली प्रहरी चौकीका इन्चार्ज जनकसिंह धामीले गर्भवती महिलाको पीसीआर परीक्षणको नतिजा ढिलो आउँदा समस्या भएको बताउनुभयाे । क्वारेन्टाइनमा रहेका अन्य मान्छे घर गए पनि उहाँहरूको आरडिटी पोजिटिभ आएकोले क्वारेन्टाइनमा बसिदिन प्रहरीले आग्रह गर्दैआइरहेको छ ।

बैतडीबाट १५० जनाभन्दा बढीको पीसीआर परीक्षण गर्न एक हप्ताअघि स्वाब धनगढी पठाए पनि परीक्षण नहुँदा नतिजा आउन नसकेको जिल्ला अस्पताल बैतडीका डाक्टर बसन्तराज जोशीले बताउनुभयो ।

अन्य व्यक्तिको पीसीआर परीक्षण ढिलो भए पनि गर्भवती महिलाको पीसीआर परीक्षण छिटो गरिदिन धनगढी ल्याबलाई अनुरोध गर्ने स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?