logo
२०८१ मंसिर १३ बिहीवार



कोरोना जितेर दाङका सात जना घर फर्किए

फिचर |
प्रदेश |


कोरोना जितेर दाङका सात जना घर फर्किए


दिवाकर पोख्रेल
देउखुरी,जेठ २८ गते । दाङका थप सात जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार गराइरहेका लमही नगरपालिका र घोराही उप–महानगरपालिकाका सात जना कोरोना सङ्क्रमित निको भएका हुन् । निको हुनेमा छ जना पुरुष र एकजना महिला रहेका छन् ।

जेठ १४ गते सङ्क्रमण पुष्टि भएका उनीहरू मङ्गलबार डिस्चार्ज भएका हुन् । अस्पतालमा १४ दिन बसेका उनीहरूको रिपाेर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक हेस्थ असिस्टेण्ट दोर्णबहादुर वलीले जानकारी दिनुभयो ।

यस्तै, कोरोना जितेर घर फर्किनेहरूमा लमही नगरपालिका वडा नम्बर १ र ४ का २६ वर्षका दुई पुरुष, वडा नम्बर ५ का २२ वर्षीया महिला र वडा नम्बर ६ का १८ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका वडा नम्बर १८ का २४ र २५ वर्षका दुई पुरुष, वडा नम्बर १० का ४० वर्षीय एक पुरुष रहेका छन् । यससँगै कोरोना विशेष अस्पताल बेझुण्डीमा उपचारत ३२ जना डिस्चार्ज भएका छन् भने अस्पतालमा अहिले ३७ जनाको उपचार भइरहेको छ ।

कोरोना लागेको महसुस नै भएन
अस्पतालबाट डिस्चार्ज भएकाहरूले आफहरूलाई कोरोना लागेको महसुस नै नभएको बताए । लमही नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा उनीहरूले आफुहरू सामान्यसरह महसुस गरेको भन्दै कोरोनाको भयबाट मुक्त हुन आवश्यक रहेको बताए ।

लमही नगरपालिका वडा नम्बर १ का २६ वर्षीय पुरुषले आफूलाई क्वारेनटाइनमा रहिरहेको समयमा स्वास्थ्यकर्मीले फोन गरेर पोजिटिभ देखिएको भने पनि कत्ति पनि डर नलागेको बताउनुभयो । 'म भारतको हैदरबादबाट आएको हुँ, उतै भिडभाडमा कतै सङ्क्रमित भएको हुन सक्छ, तर कत्ति पनि मलाई कोरोना छ भन्ने लाग्दै लागेन',उहाँले भन्नुभयो ।
यस्तै, लमही नगरपालिका वडा नं. ५ की २० वर्षीय महिलाले पनि आफ्ना परिवारसँगै भेटर कुरा गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, 'परिवारसँगै बसेर कुरा गर्न पाइयो । मलाई केही भएको जस्तो पनि लागेको थिएन ।' उहाँ भारतको दार्जलिङबाट आउनुभएको थियो । 

यसैबिच, कोरोना जितेर फर्किएका चार जनालाई लमही नगरपालिकाले स्वागत गरेको छ । स्वागत गर्दै लमही नगरपालिका प्रमुख कुलबहादुर केसीले लमही नगरपालिकामा सङक्रमित पहिलोपटक डिस्चार्ज हुँदा खुसी लागेको बताउनभुयो । उहाँले भन्नुभयो, 'यहाँहरूले कोरोना जितेर आउनुभएको छ । स्वास्थ्यकर्मीले भनेजस्तै अनुशासित भएर निर्धारित समय घरमै बिताउनुहोला ।’

यसगरी लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलले डिस्चार्ज भएर घर फर्किएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'उहाँहरूलाई रिपोर्ट पोजिटिम आए पनि पहिलेदेखि नै लक्षण थिएन । अहिले उहाँहरूको दुई पटक पीसीआर चेक गर्दा नेगेटिभ देखिएको छ, उहाँहरू स्वस्थ हुनुहुन्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?