logo
२०८१ मंसिर १३ बिहीवार



परीक्षणका लागि पठाइएको स्वाब हराएपछि शव चौरमा अलपत्र

फिचर |


परीक्षणका लागि पठाइएको स्वाब हराएपछि शव  चौरमा अलपत्र


गणेश खनाल
अर्घाखाँची, जेठ २९ गते । क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वाब नै हराएपछि शव व्यवस्थापनमा कठिनाइ भएको छ । मालारानी गाउँपालिका वडा नं. ४ को क्वारेन्टाइनमा बसेर उपचारको लागि बुटवल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिको परीक्षणका लागि पठाएको स्वाब हराएको हो ।

परीक्षणका लागि पठाएको स्वाब हराएपछि मृतकको शवलाई मालारानी - ४ कै रातुका चौरमा राखिएको छ । हिजोदेखि शव कुरेर बसिरहेको मृतकका आफन्त प्रकाश खनालले जानकारी दिनुभयो ।

मालारानी गाउँपालिका-४, ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको जेठ २३ गते स्वाब सङ्कलन गरी कोरोना जाँच गर्न प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनुभयाे । स्वाबको रिपाेर्ट सोध्न भैरहवा प्रयोगशालामा फोन गर्दा स्वाब हराएकाले फेरि स्वाब पठाउने भनेकोले पुनः स्वाब पठाइएको पौडेलले जानकारी दिनुभयो ।

सन्धिखर्कमा सामान्य उपचारपछि उहाँलाई मगलबार थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको थियो । उपचार गरी घर फर्कँदै गर्दा उहाँको गोरुसिङ्गे सन्धिखर्क -सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो । स्वाब परीक्षणको रिपोर्टका आधारमा शवको व्यवस्थापन गर्ने भनेर पठाएको स्वाबको रिपोर्ट चाँडो पठाउन ताकेता गर्दा प्रादेशिक अस्पताल भैरहवामा मृतक व्यक्तिको नामको स्वाब हराएको खुलेको हो ।

स्वाबको परीक्षण नतिजा ढिलो हुँदा शव कसरी व्यवस्थापन गर्ने भन्ने अन्योल भएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?