लक्ष्मण पौडेल
भैरहवा, जेठ २९ गते । रुपन्देहीको बेलहिया नाका भएर बिहीबार ३५७ जना नेपाली नेपाल भित्रिएका छन् । इलाका प्रहरी कार्यालय, बेलहियाका अनुसार बेलहिया नाकाबाट बिहीबार मात्रै ७४४ भारतीयहरू भारत प्रस्थान गरेका छन् । भारत प्रवेश गर्नेहरूको सङ्ख्या अघिल्ला दिनहरूको तुलनामा घटेको प्रहरीको भनाइ छ ।
नेपाल भित्रिएका नेपालीलाई सम्बन्धित जिल्लामा समन्वय गरी क्वारेन्टाइनका लागि पठाइएको र आफ्नो जिल्ला जान नपाएकालाई भैरहवामै क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक इश्वरी अधिकारीले जानकारी दिनुभयो ।
भारतका विभिन्न ठाउँमा रोजगारीका लागि गएका नेपालीको कोरोना महामारीका कारण भारतमा खानबस्न समस्या भएपछि घर फर्कने क्रम बढेको छ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले दिन प्रतिदिन ठूलो सङ्ख्यामा नेपाली स्वदेश फर्कन थालेपछि आफ्नो जिल्ला जान नपाएकालाई भैरहवामै क्वारेन्टाइनमा राख्नुपर्ने बाध्यताका कारण व्यवस्थापन गर्न समस्या पर्ने गरेको बताउनुभयो ।
यसअघि नेपाल र भारत दुवैतर्फ क्वारेन्टाइन अवधि पूरा गरेकालाई मात्र आआफ्नो देश लैजाने गरिएकोमा अहिले भने सम्बन्धित देशकै क्वारेन्टाइनमा राख्ने गरी आफ्नो देशका नागरिक भित्र्याउने गरिएको हो ।