तिलाचन पाण्डे
तम्घास, जेठ ३२ गते । गुल्मीमा कोरोना सङ्क्रमित एक क्यान्सर राेगीकाे मृत्यु भएको छ ।
रेसुङ्गा नगरपालिकाको आइसोलेसनमा राखेर उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार राती १० बजे मृत्यु भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिनुभयो ।
मृतक व्यक्तिमा जेठ १२ कोरोना सङ्क्रमण पुष्टि भएसँगै रेसुङ्गा नगरपालिकाको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । उहाँ विगत २ वर्षदेखि क्यान्सर रोगले पीडित हुनुहुन्थ्याे ।
केही दिनअघिदेखि उहाँको स्वास्थ्य अवस्था गम्भीर थियो । उहाँ आइसोलेसनको बेडमा जान र झर्न नसक्ने भएपछि उनको भुइँमै राखेर उपचार गरिएको थियो ।
शवलाई राती नै व्यवस्थापन गर्ने स्वास्थ्य संयोजक अर्यालले जानकारी दिनुभयो । उहाँका १४ वर्षका छोरा, ७० वर्षका बुवा र श्रीमती हुनुहुन्छ ।
गुल्मीमा यसअघि कोरोना सङ्क्रमणकै कारण मदाने गाउँपालिका वडा नं ६ का ४१ वर्षीय शिक्षकको रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।