मुरारी अधिकारी
धादिङ, जेठ ३२ गते । शनिबार र आइतबार कोरोना सङ्क्रमण देखिएको नीलकण्ठ नगरपालिकाका विभिन्न वडाका गाउँटोल सिल गर्ने निर्णय भएको छ ।
क्वारेन्टाइनबाट घर फर्किएका २४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि उनीहरू बसेको गाउँटोललाई सिल गरेर उनीहरूको सम्पर्कमा रहेकाको पनि पीसीआर परीक्षण गराउने निर्णय भएको सङ्कट व्यवस्थापन केन्द्र धादिङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभएको छ ।
शनिबार नीलकण्ठ नगरपालिकाको वडा नं १ का ६ जना, वडा नं ४ का १ जना, वडा नं ७ का ९ जना र वडा नं १४ का ७ जनामा कोरोनाको पुष्टि भएको थियो । उनीहरू सबै भारतबाट आएका नागरिकहरू हुन् । त्यस्तै, आइतबार थप १ जनामा सङ्क्रमण देखिएको थियो । सङ्क्रमित व्यक्तिहरूलाइ नीलकण्ठ माविको छात्रावास र सघन सहरी विकास कार्यालयमा आइसोलेसन बनाएर राख्ने निर्णयसमेत गरिएको छ ।
जिल्लाभर ८३ जना कोरोना सङ्क्रमित
आइतबारसम्म धादिङमा कोरोना सङ्क्रमितको सङ्ख्या ८३ पुगेको छ । जिल्लाको नीलकण्ठ नगरपालिकाका ४२ जना, ज्वालामुखी गाउँपालिकाका २७ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका ७ जना, सिद्धलेक गाउँपालिकाका २ जना, धुनीबेसी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिकाका एकरएक जना कोरोना सङ्क्रमित छन् । सङ्क्रमितमध्ये पाँच जना निको भएर घर फर्किएका छन् भने अन्य उपचाररत छन् ।
जिल्लामा हालसम्म पाँच सय जनामा पीसीआर परीक्षण गरिएकोमा ३२२ जनाको पोजेटिभ आएको र १०१ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । २०७ जना क्वारेन्टिनमा छन् भने ५२ जना आइसोलेसनमा छन् । विदेशबाट एक हजार जिल्लामा आएको प्रजिअ तामाङले बताउनुभयो ।