logo
२०८१ मंसिर १४ शुक्रवार



बैतडीमा एकै दिन २१ जनामा कोरोना पुष्टि, परीक्षण नतिजा नआउँदै घर गएका थिए

फिचर |
प्रदेश |


बैतडीमा एकै दिन २१ जनामा कोरोना पुष्टि, परीक्षण नतिजा नआउँदै घर गएका थिए



गोकर्ण दयाल
बैतडी, असार १ गते । बैतडीको शिवनाथ गाउँपालिकामा एकै दिन २१ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेहरू १४ दिन क्वारेन्टाइन बसेर घर गइसकेका छन् ।

जेठ २२ गते पठाएको स्वाबको परीक्षण नतिजा असार १ गते पोजिटिभ आएपछि स्थानीय सरकारले घर गएका सङ्क्रमित खोज्न बैठक डाकेको छ ।

सङ्क्रमितहरू जेठ ९ गते भारतबाट घर फर्केका थिए । चाैध दिन क्वारेन्टाइन बसेर आरडीटी पोजिटिभ आएपछि पीसीआर परीक्षणका लागि थ्रोट स्वाब सङ्लन गरेर जेठ २२ गते धनगढी पठाइएको थियो ।

सेती प्रादेशिक अस्पताल धनगढीमा स्वाब परीक्षण गरिएका शिवनाथ गाउँपालिका –२, का २० वर्ष, ३५, २५, ३४, २२ र २१ वर्षका पुरुष र १० वर्षीया बालिका रहेका छन् ।

त्यसैगरी, शिवनाथकै वडा नम्बर –३, का २४, २१, २४, र १९ वर्षका पुरुष, वडा नम्बर –४, का २६, २१, ३०, २४ र २३ वर्षका पुरुष र वडा नम्बर ६ का, २६, १७, २१, २४ र १८ वर्षीय पुरुष गरी एउटै गाउँपालिकाका ४ वडाका २१ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै बैतडीमा कोरोना पुष्टि हुनेको सङ्ख्या २७ पुगेको स्वास्थ्य कार्यालय, बैतडीले जानकारी दिएको छ ।

पीसीआर परीक्षण गर्न पठाएका ४५९ जनाको अझै नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।

स्वास्थ्य कार्यालय प्रमुख भट्टले भन्नुभयो, “पीसीआर परीक्षणको नतिजा आउन निकै ढिलो भइरहेको छ । १४ दिन क्वारेन्टाइनमा बसेर आरडीटी पोजिटिभ आएकाहरूको स्वाब सङ्कलन गरेर धनगढी पठाउने गरेका छौँ । उतैबाट रिपोर्ट ढिलो आइरहेको छ । लक्षण नदेखिकाहरूलाई गाउँपालिकाले होम आइसोलेसनमा पठाएपछि बल्ल सङ्क्रमण पुष्टि भएको रिपोर्ट आयो ।”

बैतडीको शिवनाथ गाउँपालिका भारतसँग सीमा जोडिएको महाकाली किनारको गाउँपालिका हो । पीसीआर परीक्षणको नतिजा ढिलो आउँदा समस्या उत्पन्न भएको शिवनाथ गाउँपालिकाले जानकारी दिएको छ ।

भारतबाट आएकाहरूलाई आउनेबित्तिकै परीक्षण गर्ने व्यवस्था नहुँदा १४ दिन क्वारेन्टाइन पूरा गरेपछि आरडीटी परीक्षण भइरहेको छ । आरडीटी पोजिटिभ देखिएकाको स्वाब सङ्कलन गरेर धनगढी पठाउँदा पनि समयमै रिपोर्ट नआउँदा समस्या भएको गाउँपालिकाले बताएको छ ।

असार १ गतेसम्म बैतडीका १० स्थानीय तहमा तीन हजार ११७ जना क्वारेन्टाइनमा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?