logo
२०८१ असोज ९ बुधवार



बेइजिङमा सङ्क्रमित बढ्दा लकडाउनमा थप कडाइ

फिचर |
अन्तर्राष्ट्रिय |


बेइजिङमा सङ्क्रमित बढ्दा लकडाउनमा थप कडाइ


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २ गते । चीनको राजधानी बेइजिङमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दैगएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार पछिल्लो पाँच दिनमा एक सय जनाभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको छ ।
बीबीसीका अनुसार करिब सात सातासम्म विदेशबाट आउनेमा मात्रै सङ्क्रमण पुष्टि हुँदै आएकोमा पछिल्लोपटक सङ्क्रमण स्थानीय बजारबाट सम्बन्धित रहेको पाइएपछि लकडाउन कठोरतापूर्वक लागू गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनका आपतकाल कार्यक्रमका प्रमुख माइक रयानले नयाँ ‘क्लष्टर’ सधै सरोकारको विषय रहने हुनाले शीघ्र प्रतिक्रिया र सतर्कता आवश्यक हुन जाने बताउनुभयो ।
कोरोनाभाइरसका नयाँ सङ्क्रमितको प्रकोप बेइजिङकाे सिन्फाडीस्थित एक थोक बजारबाट आएको हुनसक्ने बताइएको छ । स्थानीय केही अधिकारीसँगै उक्त बजारको महाप्रबन्धकलाई बर्खास्त गरिएको छ । चिनियाँ रोग नियन्त्रण तथा उन्मूलन केन्द्रका प्रमुखले चीनभरि यसअघि फैलिएको भाइरसको आनुवांशिक अनुक्रम नयाँको भन्दा फरक रहेको जानकारी दिनुभएको छ । विश्व स्वास्थ्य सङ्गठनले उक्त भाइरसको आनुवांशिक अनुक्रमबारे थप खुलाउन आग्रह गरेको छ ।
शनिबारदेखि नै सिन्फाडी बजार पूर्णरुपमा बन्द गरिएको छ । सोमबारसम्म बेइजिङकाे दुई सय स्थलमा सङ्क्रमण परीक्षण कार्य सुरु गरिएको छ । मे महिनाको अन्त्यदेखि उक्त बजारमा किनमेल गरेका दुई लाख व्यक्तिको पहिचान गरी परीक्षण गरिएको छ । स्वयंसेवी र सुरक्षाकर्मीले परीक्षणस्थल बनाएर स्थानीयको तापक्रम मापन गरेको छ ।
यसअघि बेइजिङकाे पाँच स्थलमा गरिएको लकडाउनलाई बढाएर २१ टोलमा पुर्याइएको छ । अधिकांश विद्यालय र इन्डोर खेलकुदका गतिविधिमा समेत रोक लगाइएको छ । बेइजिङ सामान्य जीवनमा फर्किरहँदा भाइरसको दोस्रो प्रकोपले फेरि जनजीवन असहज बनाएको छ । चीनमा कोरोनाभाइरस प्रकोपको रुप लिए यता दैनिक सङ्क्रमित हुनेको सङ्ख्या नाटकीय रुपमा कमी आएको थियो । कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको युरोपेली राष्ट्रहरू जर्मनी, बेल्जियम, क्रोएशिया र स्वीटजरल्याण्डलगायतले सीमा खोल्ने निर्णय गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?