logo
२०८१ असोज ९ बुधवार



कोरानाका कारण यो वर्ष हज यात्रा रोकिने सम्भावना

फिचर |
अन्तर्राष्ट्रिय |


कोरानाका कारण यो वर्ष हज यात्रा रोकिने सम्भावना


इश्वरचन्द्र झा
काठमाडौँ, असार २ गते । आधुनिक इतिहासमा पहिलोपटक साउदी अरबले हज यात्रा रोक्ने सम्भावना बढेको छ । अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूका अनुसार सऊदी अरबले कोरोना सङ्क्रमणको महामारीले यसप्रकारको निर्णयमा पुग्न सक्नेछ ।
एएफपीका अनुसार मुस्लिम समुदायको बाहुल्य रहेको राष्ट्रहरूले सऊदी अरबमाथि जुलाइ अन्तिमसम्म भएपनि हज खुलाउन निर्णय लिन दबाव बनाउँदैछ । तर राजनीतिक अस्थिरता, आर्थिक र महामारीको जोखिमका बीच हज खुलाए लाखौँ श्रद्धालुको आवास र खानाको व्यवस्थापनमा समस्या हुने बताइएको छ । सऊदी अरबको मक्कामा वार्षिकरुपमा लाग्ने हजमा विश्वका लाखौँ इस्लाम धर्मावलम्बी पुग्ने गरेका छन् । मुस्लिम समुदायका लागि हज यात्रालाई ठूलो धार्मिक यात्राको रुपमा लिइन्छ ।
गत वर्षको हजमा विश्वभरिबाट करिब २५ लाख श्रद्धालु मक्कामा जम्मा भएको अनुमान गरिएको छ । सऊदी अरबका एक अधिकारीका अनुसार हज यात्रा सम्बन्धमा छिट्टै नै निर्णय हुनेछ । विश्वकै सबैभन्दा बढी मुस्लिम समुदायको जनसङ्ख्या रहेको इन्डोनेसियाले निर्णय लिन ढिलाइ भएको भन्दै गत महिना नै मक्काबाट आफ्नो नागरिकलाई फित्र्ता बोलाइसकेको छ ।
इन्डोनेसियाले फित्र्ता बोलाउने निर्णयलाई अत्यन्तै तीतो र कठिन भनेर अथ्र्याएको थियो । मलेसिया, सेनेगल र सिंगापुरले पनि इन्डोनेसियाको जस्तै निर्णय लिने तयारी गरेको छ ।
इजिप्ट, मोरक्को, टर्की, बुल्गेरिया र लेबनान जस्ता मुस्लिम बाहुल्य राष्ट्रले भने सऊदी अरबको आधिकारिक निर्णयको पर्खाइमा रहेको प्रष्ट्याएको छ । फ्रान्स लगायतका युरोपेली राष्ट्रका धर्मगुरुले भने आगामी वर्षसम्मका लागि हज रोक्न आग्रह गरेका छन् ।
इस्लाम धर्ममा जीवनमा एकपटक हज यात्रा गर्नु सबैभन्दा ठूलो र महत्वपूर्ण अध्यात्म यात्राको रुपमा चित्रित गरिएको छ । विश्वभरि हवाई उडानसमेत अनियमित हुँदा सऊदी अधिकारीहरूले स्थानीय र सीमासँग जोडिएको केही राष्ट्रका श्रद्धालुलाई आउने अनुमति दिएर यसवर्षको हज छोट्याउन सक्ने विकल्पमाथि छलफल गरिरहेको छ । महामारीको जोखिमका बीच गत मार्च महिनामा सानो स्तरको उमराह निलम्बन गरिएको थियो ।
सरकारी तथ्याङ्क बमोजिम हज यात्राले सऊदीको अर्थतन्त्रमा वार्षिक करिब १२ अर्ब अमेरिकी डलरको योगदान गर्छ । कोरोनाभाइरसको सङ्क्रमण छिट्टै सर्ने भएकोले लाखौँ व्यक्ति सीमित स्थानमा एकैपटक जमा भएर पूजा गर्नु जोखिमयुक्त हुनेछन् ।
सऊदी अरब सरकारले हज रोके सन् १९३२ मा सऊदी अरबको स्थापना भएपछि हज रोकिने यो पहिलो अवसर हुनेछ । तर यसप्रकारको निर्णयले विश्वका लाखौँ इस्लाम धर्मावलम्बीलाई दुखी बनाउनेछन् ।
हज यात्राका लागि मुस्लिम समुदाय वर्षौंसम्मको पर्खाइमा बसेका हुन्छन् । सऊदी अरबमा कोरोनाभाइरसका करिब एक लाख ३० हजार सङ्क्रमित छन् । सोमबारसम्म एक हजार जनाले ज्यान गुमाएका छन् ।
यस वर्षको हज जुलाइ २८ मा सुरु भई अगष्ट २ मा समाप्त हुने गरी तिथि निर्धारण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?