logo
२०८१ मंसिर १४ शुक्रवार



प्रदेश १ मा कोरोना परीक्षणः आरडीटीभन्दा पीसीआर बढी

फिचर |
प्रदेश |


प्रदेश १ मा कोरोना परीक्षणः आरडीटीभन्दा पीसीआर बढी



नवराज कट्टेल
विराटनगर, असार ३ गते । कोरोना सङ्क्रमणको परीक्षणमा प्रदेश १ मा आरडीटीभन्दा पीसीआर परीक्षण विधिलाई प्राथमिकतामा राखिएको छ ।
उदयपुरको भुल्केमा गत वैशाख ५ गते १२ जनामा एकैपटक देखिएको सङ्क्रमणपछिको यस अवधिसम्म द्रूत परीक्षण विधि (आरडीटी) भन्दा पीसीआर परीक्षण विधिको नमूना बढी सङ्कलन गरिएको हो ।
प्रदेश १ का तीन वटा ल्याबका लागि हालसम्म १६ हजार १६९ पीसीआर परीक्षणका लागि स्वाबको नमूना सङ्कलन गरिएको छ । यस अवधिमा आरडीटीका लागि १५ हजार ८०४ नमूना परीक्षण भएका हुन् ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सम्भावित सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि अपनाउनुपर्ने विशिष्टिकृत विधिलाई प्राथमिकतामा राखिएको दाबी गर्नुभयो । उहाँले सङ्क्रमितको सङ्ख्या थपिदैँ जाँदा उपचारपछि निकाे हुनेको दरमा समेत प्रदेश १ अगाडि रहेको दाबी गर्नुभयो ।
प्रदेश १ का १४ जिल्लामध्ये १२ जिल्लामा सङ्क्रमित फेला परेका छन् । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेशकुमार मेहताका अनुसार प्रदेश १ मा बिरामीको उपचारपछि निको हुने दर ४५ प्रतिशतभन्दा बढी छ । सङ्क्रमितको सङ्ख्या हालसम्म ४०२ पुग्दा डिस्चार्ज हुनेको सङ्ख्या १८१ रहेको छ । जुन ४५.०२ प्रतिशत हुन आउँछ ।
सङ्क्रमितमध्ये भारतमा रोजगारी गरेर देश फर्कनेहरू अधिक रहेका छन् । जिल्लागत रुपमा पनि भारतसँग सीमा जोडिएका झापा, मोरङ र सुनसरी सङ्क्रमितको सङ्ख्या धेरै भएको जिल्लामा पर्दछन् । झापामा १७८, मोरङमा ९३, सुनसरीमा ६२, धनकुटामा ८, भोजपुरमा ६, खोटाङमा ४, उदयपुरमा ४३, सोलुखुम्बुमा एक, सङ्खुवासभामा दुइ, तेह्रथुममा दुइ, इलाममा दुइ र पाँचथर एक र ताप्लेजुङमा तीन जना सङ्क्रमित फेला परेका हुन् ।
प्रदेश सरकारले निर्माण गरेको क्वारेन्टीनमा मङ्गलबारसम्म चार हजार १५ जना बसिरहेका छन् । घरमै क्वारेन्टाइन बस्नेहरुको सङ्ख्यासमेत १० हजार १४० रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?