प्रेम अधिकारी
पशुपतिनगर (इलाम), असार ३ गते । इलामको पर्यटकीयस्थल तुम्लिङमा भारतीय सीमा सुरक्षा बल (एसएबी) ले रोकेको काम स्थानीयको पहलमा बुधबारबाट शुरु भएको छ ।
माईजोगमाई गाउँपालिका– २ स्थित तुम्लिङ नेपाली भूमिमा दुई महिनादेखि रोकिएको पर्यटकीय पार्क निर्माणको काम स्थानीयको पहलमा शुरु गरिएको हो । करिब दुई महिनाअघिबाट रोकिएको काम माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईको अगुवाईमा स्थानीय उपभोक्ता समितिले सुचारु गरेका हुन् । नेपाली भूमिमा पार्क निर्माण थालिए पनि भारतीय पक्षले आफनो भूमि भन्दै काममा अवरोध गर्दैआएको थियो । गाउँपालिका अध्यक्ष राईको नेतृत्वमा पुगेको स्थानीयको समूहले बुधबारबाट काम सूचारु गरेको छ ।
प्रदेश १ सरकारको लगानीमा थालिएको काम असार मसान्तमा सक्नुपर्ने भए पनि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेपछि काम रोकिएको थियो । रोकिएको काम सुचारु गराउन गाउँपालिकाले पटकपटक जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी बल हेडक्वार्टर इलाम, सीमा सुरक्षा बल, पशुपतिनगर र सीमा प्रशासनलाई आग्रह गर्दा पनि प्रशासनले कुनै पहल नगरेपछि आफ्नै पहलमा काम थालिएको गाउँपालिका अध्यक्ष जीतबहादुर राईले जानकारी दिनुभयो । स्थानीइ १५-२० जना र उपभोक्ता समितिसहित पुग्नुभएका अध्यक्ष राईले एसएसबीसँग छलफल गरी काम थालिएको जानकारी दिनुभयो ।
छलफलमा भारतको मानेभञ्ज्याङबाट एसएसबीको टोली तुम्लिङ पुगे पनि स्थानीयले निर्माणाधीन क्षेत्र नेपालको पर्ने भन्दै काम गर्न दिइनुपर्ने बताएका थिए । स्थानीयले भारतीय पक्षले जबरजस्ती काम रोक्न खोजे आफूहरू सहेर नबस्ने बताएका छन् । पार्क निर्माण क्षेत्र दशगजाभन्दा करिब पाँच सय मिटर नेपालतर्फ नै पर्छ ।
प्रदेश सरकारको १० लाख रुपियाँ बजेटमा उपभोक्ता समितिमार्फत् सन्दकपुर–मानेभञ्ज्याङ्ग पर्यटकीय क्षेत्रमा पर्ने तुम्लिङ क्षेत्रमा पार्क निर्माणको काम वैशाख महिनाको पहिलो साताबाट शुरु भएको थियो । पटकपटक छलफल गर्दा भारतीय पक्षले लिखित रुपमा काम गर्नेबारे पत्र माग्दै आएको थियो । माईजोगमाई गाउँपालिकाले आवश्यक समन्वय गरेर काम थालिएको र समस्या भए स्थानीय नागरिकले प्रतिकार गर्ने जनाएको छ ।
भारतीय पक्षले उक्त क्षेत्रको दशगजा मिचेर सुरक्षा पोष्ट नै स्थापना गरेर बसेको छ । भारतीय पक्षले सीमा प्रष्ट नभएको भन्दै विकासका काममा अवरोध गर्दैआएको छ । इलामको ५२ किलोमिटर सीमा क्षेत्रमा नेपाल भारतबीच सीमा समस्या विगत लामो समयदेखि कायम रहेको छ ।