logo
२०८१ असोज ९ बुधवार



भारत र चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन सम्वाद

फिचर |
अन्तर्राष्ट्रिय |


भारत र चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन सम्वाद
तस्विर-रोयटर्स


गोरखापत्र अनलाइन
काठमाडौं, असार ३ गते । भारतीय र चिनियाँ विदेश मन्त्रीले सीमा क्षेत्रमा दुबै देशका सेनाबीच भएको भिडन्तको घटनामा एक अर्काको विरोध जनाएका छन् । सोमबार साँझ लद्दाखसँग जोडिएको गलवान उपत्यकामा भएको भिडन्तमा भारतीय सेनाका एक कर्णेलसहित २० जनाको मृत्यु भएको थियो ।
बीबीसीका अनुसार टेलिफोन सम्वादको क्रममा भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले आफ्ना चिनियाँ समकक्षी समक्ष चीनले भारतीय भूमिमा पूर्बाधार निर्माण गरेको दाबी गर्नुभयो । चिनियाँ विदेशमन्त्री याङ यीले भारतीय सेनाले पहिले आक्रमण गरेको दाबी गर्नुभयो । तर दुबैजनाले भने स्थितिलाई अझै तनाबमय बनाउन नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विवादित सीमा क्षेत्रमा पछिल्लो ४५ वर्षमा सैन्य क्षति नै हुनेगरी यो पहिलो भिडन्त हो । सैन्य हतियार बन्दूक प्रयोग नगरिएपनि भिडन्तको क्रममा लठी र धातुजन्य हतियारको प्रयोग गरिएको थियो ।
चीनले क्षतिको बिवरण खुलाएको छैन् । अझै केही भारतीय सेना हराइरहेका छन् ।
बुधबार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सेनाको निधन ब्यर्थ नजाने बताउनुभएको छ । टेलिभिजन सम्बोधनको क्रममा प्रधानमन्त्री मोदीले भारत शान्ती चाहेको तर उक्साइए जस्तोसुकै परिस्थितिमा सही जवाब फर्काउन सक्षम रहेको प्रतिक्रिया जनाउनुभयो ।
दुई विदेशमन्त्रीबीचको टेलिफोन सम्वादपछि जारी गरिएको भारत सरकारको वक्तब्यमा चिनियाँ सेना भारतीय भूमिमा पूर्बाधार निर्माण गरेको दाबी गरेको छ । उसले चिनियाँ पक्षले योजना बनाएर नै भिडन्त गरेको दाबी गर्नुका साथै चीनलाई सही कदम चाल्न जोड दिएको छ । वक्तब्यमा दुबैजनाले तनाब बढाउने कुनै कार्य गर्न नहुने निचोड निस्केको जनाइएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले भने सम्वाद्को क्रममा घटनाको छानबीन गरी दोषी भारतीय सेनामाथि कारबाहीको माँग गरिएको प्रष्ट्याउनुभयो । उहाँले उक्साउने कुनै पनि गतिबिधि नगर्न जोड दिनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?