प्रेमराज सिम्खडा
कालीकोट, असार ५ गते । कालीकोटमा तीन हजारभन्दा बढी नागरिक भारतबाट आएपछि क्वारेन्टाइन भरिभराउ भएका छन् । क्वारेन्टाइन भरिएपछि सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । क्वारेन्टाइनमा रहेका नागरिक अराजक बन्न थालेपछि कालीकोटका तीन स्थानीय तहमा नेपाली सेना परिचालन गरिएको बताइएकाे छ ।
क्वारेन्टाइनमा बस्ने नागरिकले जथाभावी गर्ने र झोला बोकेर घरतिर जाने क्रम बढेपछि जिल्ला विपद् व्यवस्थापन समितिले नेपाली सेनालाई क्वारेन्टाइन सुरक्षाको जिम्मा दिएको छ । प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जिल्लाभरिका ३५ वटा क्वारेन्टाइनमा चार हजार ३०४ बेडमा नागरिक रहेको बताउनुभयो । उहाँले क्वारेन्टाइनमा एक्कासि भीड लागेकाले सुरक्षाशक्ति पनि बाँडफाँट भएको बताउनुभयो । सुरक्षाकर्मीको सङ्ख्या कम भएकाले अलि संवेदनशील ठाउँमा नेपाली सेनालाई जिम्मा दिइएको गैरेले जानकारी दिनुभयो ।
जिल्लाको रास्कोट नगरपालिकाको वडा नं ७ को क्वारेन्टाइन, तिलागुफा नगरपालिका र खाँडाचक्र नगरपालिकास्थित तिलाकर्णाली बहुमुखी क्याम्पसको क्वारेन्टाइन गरी जिल्लाका तीन वटा क्वारेन्टाइनको सुरक्षा नेपाली सेनाले लिएको छ । सेनानी उत्तम कटुवालले अलि सम्वेदनशील क्वारेन्टाइनमा नेपाली सेनाले सुरक्षा दिने भनेपछि आफू खटिएको बताउनुभयो । ठूलो सङ्ख्या भएकाले होहल्ला बढी हुने ठाउँलाई जिल्ला विपद् व्यवस्थापन समितिले सम्वेदनशील क्षेत्र भनेर नामकरण गरेको छ ।
रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बरालले क्वारेन्टाइनमा बसेका व्यक्ति भाग्न थालेपछि सेनाले सुरक्षा दिन भनेको बताउनुभयो । नेपाल प्रहरीको सङ्ख्या कम भएकाले उनीहरूको कुरा नसुन्ने भएकाले नेपाली सेना परिचालन गरिएको उहाँको भनाइ छ । सुरक्षा व्यवस्था मजबुत हुँदा क्वारेन्टाइनमा बसेका नागरिकबाट कतै कोरोना सङ्क्रमण हुनसक्ने जोखिम पनि कम भएको बताउनुभयो । स्वास्थ्य कार्यालय कालीकोटका सूचना अधिकारी कटकबहादुर महतले हालसम्म पाँच हजार ४०२ जना भर्ना भएकोमा तीन हजार ६७५ जना पीसीआर, आरडीटी परीक्षणपछि घर गएको बताउनुभयो । उहाँले हाल एक हजार ७१२ जना क्वारेन्टाइनमा रहेको र उनीहरूको सुरक्षा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरिरहेको बताउनुभयो ।