भवानी ऐर
गोदावरी, असार ६ गते । कैलालीको गोदावरी नगरपालिका- १ मा कोरोना सङ्क्रमणबाट मृत्यु भएका पुरुषको सम्पर्कमा आएका घरपरिवारका तीन जना सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा मृतककी ४१ वर्षीया श्रीमती र उनका १६ र २१ वर्षीय छोरामा कोरोना सङ्क्रमण पृष्टि भएको गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउदले बताउनुभयो । यस्तै, सोही ठाउँका ५८ वर्षीय छिमेकी पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको गोदावरी नगरपालिकाले जनाएको छ ।
बुधबार राति धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएका ४६ वर्षीय कोरोना सङ्क्रमित ती पुरुषको सम्पर्कमा रहेका घरपरिवारका पाँच जनाको स्वाब परीक्षण गर्दा चार जनामा कोरोना पुष्टि भएपछि घर टोलसँगै अत्तरिया बजार सिल गरिएको छ ।
गोदावरी नगरपालिकाले अत्तरिया उद्योग वाणिज्य सङ्घको आग्रहमा केही दिनका लागि नगरक्षेत्रभित्र रहेका व्यवसाय बन्द गरिदिन अपिल गरेको छ । गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउदद्वारा हस्ताक्षरित अपिलमा बजार खोली भिडभाड गराउँदा नगरबासीहरुका लागि अत्यन्त जोखिमपूर्ण रहेकाले अत्यावश्यक सेवाबाहेक अन्य बजार बन्द गरिदिन नगरवासीमा अपिल गरिएको छ ।
हालै मात्र यस नगरपालिका कोरोना सङ्क्रमणले एक जनाको ज्यान लिइसकेको र केही व्यक्तिहरूमा सङ्क्रमण देखिएको सन्दर्भमा बजार खोली मानिसहरूको भिडभाड गराउनु नगरवासीहरूका लागि अत्यन्य जोखिमपूर्ण रहेको उल्लेख गर्दै अपिलमा भनिएको छ ‘सम्पूर्ण नगरवासीहरूले एकदमै सचेत भई सावधानीपूर्वक (कोभिड-१९) कोरोना भाइरससम्बन्धी नेपाल सरकारले जारी गरेका मापदण्ड पालना गरी घरमै बसिदिनहुन अपिल गर्दछु ।’
लकडाउनको ढाँचा परिवर्तन गर्दै सरकारले पसल व्यापार, व्यवसाय र आवागमनमा केही खुुकुलो बनाउने निर्णय बमोजिम यस क्षेत्रका बजार व्यवसाय आंशिक रुपमा सञ्चालन आएको भए पनि पूर्णरुपमा भने सुचारु हुन सकेका थिएनन्। सरकारको उक्त निर्णयपछि अत्तरीया उद्योग वाणिज्य सङ्घले पनि बजार सुचारु गर्न आग्रह गरेको भए पनि पछिल्लो समय नगर क्षेत्रमा कोरोना सङ्क्रमित बढ्न थालेपछि अहिले व्यवसायीहरू पनि केही दिनका लागि बजार बन्द गर्नुपर्ने पक्षमा उभिएका छन् ।
सुदूरपश्चिमकै केन्द्रकारुपमा रहेको कैलालीको गोदावरी नगरपालकामा शुक्रबारसंम्मको तथ्याङ्क अनुसार पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ भने एक जनाको मृत्युसमेत भइसकेको छ । अन्य सङ्क्रमित अहिले उपचारकै क्रममा रहेका छन् । गोदावरी नरपालिकामा जेठ २४ गते पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएका उहाँ नगरपालिकाका जनप्रतिनिधि रहेको नगरपालिका स्रोतले बताएको छ । उहाँको उपचार नगरपालिकाले निर्माण गरेको आइसोलेसनमै भइइरहेको छ ।