इश्वरचन्द्र झा
काठमाडौँ, असार ६ गते । वैज्ञानिकहरूले गत डिसेम्बर महिनामै इटालीको दुई शहरका ढलको पानीमा कोरोनाभाइरस फेला पारेको जनाएका छन् । इटालीमा कोरोनाभाइरसको पहिलो सङ्क्रमित पुष्टि हुन धेरैअघि ढलको पानीमा सङ्क्रमण पाइएको इटालीका वैज्ञानिकहरूको दाबी छ ।
इटालीको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले मिलान र तुरिन शहरको ढलको पानी परीक्षण गर्दा डिसेम्बर १८ मै भाइरसको पुष्टि भएको जनाएको छ । इटालीका वैज्ञानिकको यसप्रकारको दाबीले अन्य राष्ट्रमा झैँ भाइरसको सङ्क्रमण पुष्टि हुनु धेरैअघि नै सञ्चार भएको दाबीलाई सशक्त बनाउँछ ।
चिनियाँ अधिकारीहरूले डिसेम्बर महिनाको अन्त्यमा मात्रै बिरामीमा भाइरस सङ्क्रमणको पुष्टि गरेका थिए । इटालीमा पहिलोपटक मध्य फेब्रुअरीमा सङ्क्रमणको पुष्टि भएको थियो ।
गत मे महिनामा फ्रान्सेली वैज्ञानिकहरूले पेरिसनजिकैको एक बिरामीको नमूनामा डिसेम्बर २७ मै निमोनिया झैँ लक्षण देखिने सङ्क्रमण फेला परेको दाबी गरेका थिए । स्पेनमा एक अध्ययनले बार्सिलोनामा मध्य जनवरीमा नै फोहोर पानीमा भाइरसको पत्ता लागेको दाबी गरेको छ । यस्तो सङ्क्रमण स्पेनमा पहिलो सङ्क्रमितको पुष्टि भएको ४० दिनअघि नै पाइएको थियो ।
अध्ययनमा आईएसएसले पानी प्रशोधन गर्ने उद्योगबाट ४० वटा ढलको पानीको नमूना सङ्कलन गरेको थियो । उत्तरी इटालीमा अक्टोबर र फेब्रुअरी महिनामा नमूना सङ्कलन गरियो ।
अक्टोबर र नोभेम्बर महिनामा गरिएको परीक्षणले निगेटिभ परिणाम देखाएको थियो । तत्काल भाइरसको सङ्क्रमण देखिएन । जनवरी महिनामा बोलोग्नाको फोहोर पानी परीक्षण गर्दा भाइरस पत्ता लागेको आईएसएसको पानीको परिमाण विज्ञ जिसेप्पिन ला रोसाले बताउनुभयो । ला रोसाले भाइरसको सङ्क्रमण फैलिने क्रमलाई उक्त अनुसन्धानले बल पुर्याएको तर्क गर्नुहुन्छ ।
उहाँका अनुसार पानी परीक्षण सम्बन्धी हालसम्म गरिएको अनुसन्धानले सङक्रमणको मुख्य कडी पहिलो सङ्क्रमितसँग जोडिई प्रकोपको रुप लिएकोसँग जोडिएको देखिन्न । इटालीको लोम्बार्डी क्षेत्रको कोडोग्नो शहरमा पहिलो पटक एक स्थानीयमा भाइरस सङ्क्रमणको पुष्टि भएको थियो । शहर तत्कालै बन्द गरियो र फेब्रुअरी २१ मा ‘रेड जोन’ घोषित गरियो । तत्कालै लोम्बार्डी र छिमेकका भेनेटोसँगै समग्र इटाली नै मार्च पहिलो साता लकडाउन हुनपुग्यो ।
आईएसएसले ढलको पानी परीक्षण ‘रणनीतिक महत्व’ राख्ने जनाएको छ । सङ्क्रमण परीक्षणको सबैभन्दा प्रारम्भिक पत्ता लगाउने उपकरण ढलको पानी हो । यसप्रकारको परीक्षणको निचोडले क्लिनिकमा बिरामीमा परीक्षणपछि पुष्टि हुनुभन्दा धेरै अघि ढलको पानीको परीक्षणले सम्भावित सङ्क्रमणको सङ्केत गर्छ ।
जोन हप्कीन्स विश्वविद्यालयका अनुसार इटालीमा करिब ३५ हजार जनाको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भयो ।
(बीबीसीको समाचारमा आधारित)