तारा चापागाईं दुबे
पोखरा, असार ७ गते । आइतबार बिहान बागलुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ५०४ पुगेको छ । गण्डकी प्रदेशको ११ वटै जिल्लामा कारोना सङ्क्रमित देखिएका छन् ।
बाँकी रहेको एक जिल्ला मुस्ताङमा पनि शनिबार साँझ छैरो शरणार्थी शिविरमा काठमाडौँबाट पुगेका ८३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । बागलुङको गल्कोट नगरपालिकका चार पुरुष, ढोरपाटन नपाका एक पुरुष, काठेखोला गाउँपालिकामा तीन र बागलुङ नगरपालिकाका एक कोरोना सङ्क्रमण पुष्टि भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका दुई महिला, मङ्गला गाउँपालिकाका एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
तनहुँको रिसिङ गाउँपालिकाका एक पुरुष र पर्वतको कुश्मा नगरपालिकाका दुई पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले बताउनुभयो ।
सम्पूर्ण सङ्क्रमितलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेशका ११ वटै जिल्लामा कोरोनाको सङ्क्रमण देखिएसँगै प्रदेशका सबै जिल्ला रेड जोनमा परेका छन् । हालसम्म प्रदेशभर ४९ जना बिरामी निको भएर घर फर्केका छन् । स्याङ्जाको वालिङका ५८ वर्षीय पुरुषको निधन भएको छ ।