logo
२०८१ मंसिर १३ बिहीवार



सप्तरीमा आइसोलेसन रित्तिँदै, ७१ जना निको भएर घर फर्किए

फिचर |


सप्तरीमा आइसोलेसन रित्तिँदै, ७१ जना निको भएर घर फर्किए


धीरेन्द्रप्रसाद साह
राजविराज, असार ७ गते । सप्तरीमा कोरोना सङ्क्रमणमाथि विजय प्राप्त गर्नेको सङ्ख्या बढ्दै जाँदा आइसोलेसन केन्द्रमा बिरामीको सङ्ख्या पनि घट्दैगएको छ । राजविराजस्थित कोभिड-१९ सङ्क्रमितको लागि सञ्चालनमा रहेको आइसोलेसन केन्द्रमा १५८ जनामध्ये हालसम्म ७१ जना निको भएर डिस्चार्ज भई घर फर्किसकेको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ । गजेन्द्र नारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा कोभिड–१९ कोरोना भाइरस व्यवस्थापन समितिका संयोजक डा. रणजितकुमार झाले आइसोलेसनमा १५८ जना सङ्क्रमित भर्ना भएकोमध्ये हाल ८७ जना मात्र उपचाररत रहेको बताउनुभयो ।

जिल्लाको विभिन्न स्थानीय तहहरूले सञ्चालन गरेको क्वारेन्टाइनबाट कोरोना सङ्क्रमित भई आइसोलेसनमा भर्ना भएकाहरूमध्ये कोरोना जितेर सात पटकमा गरी ७१ जनालाई डिस्चार्ज गरेको बताइएको छ । प्रथम पटक एक, दोस्रो पटक तीन र त्यसपछि क्रमशः १७, १८, १३, पाँच र १४ जना सङ्क्रमित निको भएर घर फर्किएको छ ।

पछिल्लो पटक शनिबार एक महिलासहित १४ जना कोरोनालाई जितेर निको भएका छन् । छिन्नमस्ता गाउँपालिकाका पाँच, राजविराज नगरपालिकाबाट तीन जना, हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट पाँच जना र शम्भुनाथ नगरपालिकाबाट एक जना आइसोलेसनमा भर्ना भएकाहरू निको भएर घर फर्किसकेको छ ।

जिल्लामा वैशाख २९ गते पहिलो सङ्क्रमित आइसोलेसनमा भर्ना गरिएको थियो । पहिलो कोरोना सङ्क्रमित डाक्नेश्वरी नगरपालिका-, ३ हटेलका १८ वर्षीय नसिम हुसेन १८ दिनको उपचारपछि गत जेठ २२ गते घर फर्किनुभएको थियो । त्यस्तै गत १ गते सोमबार एक महिलासहित १३ जना निको भएर डिस्चार्ज भएका थिए । गत ३ गते बुधबार तिरहुत गाउँपालिका, राजविराज नगरपालिका, बोदेवर्साइन नगरपालिका र राजगढ गाउँपालिकाका गरी पाँच जना कोरोनालाई जितेर घर फर्केको बताइएको छ । त्यस्तै, जेठ २८ गते बुधबार तीन, २९ गते बिहीबार १७ जना, ३० गते १८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भई घर फर्किसकेको स्वास्थ्य कार्यालय, सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
हालसम्म जिल्लामा कोरोना जितेकाहरूमा दुई प्रहरी, एक स्वास्थ्यकर्मीसमेत रहेका छन् ।

मिर्गौला रोगी बालकले कोरोना जिते
कोरोनाबाट विजय प्राप्त गरेकामध्ये एक जना सप्तरीका १४ वर्षीय मिर्गौला रोगबाट पीडित बालक पनि छन् । हिजो शनिबार कोराना जितेर घर फर्किएका बालक भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालबाट उपचार गराएर फर्किएका थिए । कोरोना सङ्क्रमित मिर्गौला रोगका बिरामी बालकसँगै उनकी ४० वर्षीया आमाले पनि कोरोना जित्नुभएकाे छ ।

राजविराज नगरपालिका १३ पिपराहीका उनीहरूलाई जेठ २६ गतेदेखि आइसोलेसनमा राखिएको थियो । गत शुक्रबार दोस्रो पटक गरिएको परीक्षणमा आमा छोरामा कोरोना नदेखिएपछि शनिबार राजविराजस्थित आइसोलेसन केन्द्रबाट डिस्चार्ज गरिएको बताइएको छ ।
बुवा–छोरामा सङ्क्रमण
पछिल्लो पटक शुक्रबार जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकामा बुवा–छोरासहितमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनीहरू सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । हनुमाननगर कङ्कालीनी नगरपालिका–४ का ४० र ११ वर्षीय बुवा–छोरा हुन् । उनीहरूसँगै १६ वर्षीय अर्का एक किशोर र वडा नम्बर–७ की ५० वर्षीया एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य संयोजक रामदेव यादवले बताउनुभयो ।

भारतको दिल्ली, जयपुरबाट फर्किएका उनीहरू हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुर र अरहीस्थित विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । वडा नम्बर ७ की महिला वडा नम्बर ५ स्थित राप्रावि कोरियानीको क्वारेन्टइनमा बसेकी थिइन् ।

१४ स्थानीय तहमा फैलियो सङ्क्रमण
जिल्लाको १८ स्थानीय तहमध्ये १४ स्थानीय तहमा कोरोना भाइरस सङ्क्रमण फैलिएको छ । हालसम्म जिल्लाको बोदेबर्साइन नगरपालिकामा ३२, हनुमाननगर कङ्कालिनी नगरपालिकामा ३५, बलान बिहुल गाउँपालिकामा २७, छिन्नमस्ता गाउँपालिकामा १५, राजगढ गाउँपालिका र राजविराज नगरपालिकामा १३/१३, डाकनेश्वरी नगरपालिकामा १२, खडक र कञ्चनरुप नगरपालिकामा तीन/तीन जना, सुरुङ्गा, शम्भुनाथ नगरपालिका तथा बिष्णुपुर, तिरहुत, महादेवा र तिलाठी कोइलाठी गाउँपालिकामा एक/एक जना सङ्क्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?