logo
२०८१ मंसिर १३ बिहीवार



कोरोना जितेका नगरप्रवक्ता भन्नुहुन्छ–‘मनोबल उच्च राखौँ’

फिचर |


कोरोना जितेका नगरप्रवक्ता भन्नुहुन्छ–‘मनोबल उच्च राखौँ’


भवानी ऐर
गोदावरी, असार ७ गते । कैलालीको गोदावरी नगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नंम्बर १ का अध्यक्ष शर्मानन्द भट्टले कोरोना जित्नुभएको छ । पन्ध्र दिनको आइसोलेसन बसाइमा उच्च मनोबलकासाथ शारीरिक व्यायम गर्दै उहाँले कोरोनालाई जित्नुभएको हो ।

गत जेठ २४ गते धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना पुष्टि हुनुभएका भट्टको लगातार दुई पटक रिपाेर्ट नेगेटिभ आएपछि आइतबार घर फर्किनुभएको छ । कोरोना सङ्क्रमण भएपछि नगरपालिकाको आइसोलेसनमा बस्नुभएका वडाध्यक्ष भट्ट निको भएर घर फर्किने बेला मनोबल उच्च राखेमा कोरोनालाई परास्त गर्न सकिने प्रतिक्रिया दिनुभयो ।

‘आरडीटी रिपाेर्ट पोजेटिभ आएदेखि नै उच्च मनोबलकासाथ कोरोनासँग डटिरहेको थिएँ ।’ भट्टले भन्नुभयो, ‘बिचमा दुई दिन श्वास फेर्न गाह्रो भएको थियो तर, लामो श्वास लिने, अन्य शारीरिक व्यायम गर्ने गरेपछि समस्या हटेर गयो । कोरोना समान्य रहेछ, तर हामीले उच्च मनोबल बनाउनुपर्छ ।’ कोरोनाको आशङ्का लागेपछि तुरुन्त परीक्षण गर्न तथा सावधानी अपनाउनुपर्ने सुझावसमेत भट्टको रहेको छ ।

उहाँले कोरोना सङ्क्रमणका बेला मनोबल उच्च राख्न प्रेरित गर्ने सबैलाई धन्यवाद दिँदै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाबाट बच्न सर्तकता अपनाउनसमेत आग्रह गर्नुभएकाे छ ।

नेपालमा कोरोना सङ्क्रमणको सुरुवातदेखि नै सुदूरपश्चिम प्रदेशको केन्द्रविन्दुमा रहेको गोदावरी नगरपालिकाभित्र भारतबाट आएकाहरूको व्यवस्थापन तथा उद्धार कार्यमा खटिनुभएका नगरप्रवक्ता भट्ट नगरपालिका भित्रका नागरिकलाई मात्र नभई भारत तथा देशका विभिन्न ठाउँबाट आएकाहरूलाई पनि क्वारेन्टाइनमा राख्नेदेखि अन्य जिल्लामा पठाउने कार्यमा सक्रिय रहँदै आउनुभएको थियो ।  गोदावरी नगरपालिकामा हाल कोरोना सङ्क्रमितको सङ्ख्या २२ पुगेको छ । जसमध्ये एक जनाको मृत्युसमेत भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?