अमृतप्रसाद पौडेल
बेनी, जेठ ८ गते । हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–१, छैरोमा रहेको तिब्बती शरणार्थी शिविरमा एक जना सङ्क्रमित भेटिएपछि शिविरलाई आइतबारदेखि सिल गरिएको छ । काठमाडौँको बौद्धबाट आएर शिविरमा बसेका ८२ वर्षीय शरणार्थीमा कोरोना भाइरस पोजिटिभ भेटिएपछि क्याम्पलाई सिल गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताउनुभयो । काठमाडौँबाट आएपछि आरडीटी परीक्षण गर्दा पोजिटिभ देखिएपछि स्वाब सङ्कलन गरेर पठाइएकोमा पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ आएपछि शनिबार रातिदेखि नै उच्च सतर्कतासहित आइतबारबाट क्याम्पलाई सिल गरिएको हो ।
हालसम्म कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको र अहिले सम्म २२ जनाको स्वाब सङ्कलनको लागि तयारी भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । सङ्क्रमित वृद्ध छैरो क्याम्पभित्रै बसेका कारण बाहिर सङ्क्रमणको सम्भावना कम रहेको र उनीसँगै गाडीमा आएकाहरूको पनि ट्रेस थालिएको अर्यालको भनाइ छ । 'सङ्क्रमितको सम्पर्कमा आएका र सँगै यात्रा गरेका गरी हालसम्म हामीले २२ जना भेटेका छौँ । उनीहरूको सोमबार स्वाब सङ्कलन हुन्छ ।' प्रजिअ अर्यालले भन्नुभयो ।