शैलेन्द्र राेकाय
बझाङ, असार ८ गते । जिल्लाको छबिस पाथीभेरा गाउँपालिकामा क्वारेन्टाइनमा बसेका एक युवाले आइतबार राति आत्म हत्या गरेका छन् । छबिस पाथीभेरा गाउँपालिका -७ स्थित मजखोरी माविको क्वारेन्टाइनमा बसेका ३२ वर्षीय रमेश धामीले आत्महत्या गरेको वडा नम्बर ७ का वडा अध्यक्ष पदमबहादुर मण्डेलले बताउनुभयो ।
क्वारेन्टाइनमा आवतजावत कोही कसैले पनि नगरुन् भन्ने उद्देश्यले डोरीको बार हालिएको थियो । सोही डोरीलाई नै लिएर धामीले क्वारेन्टाइनभित्रै झुण्डी आत्महत्या गरेका बुझिएको वडा अध्यक्ष मण्डेलले बताउनुभयो ।
धामी असार ६ गते मात्रै भारतको ब्यालोरबाट घर पुगेका थिए । भारतबाट आएका धामीका श्रीमती र कान्छा छोरा भारतमा नै रहेका र उहाँका एक छोरा एक छोरी भने गाँउमा रहेको उहाँको भनाइ छ ।
के कती कारणले आत्महत्या गरे भन्ने कुरा नबुभझिएको जिल्ला प्रहरी कार्यालय, बझाङका डिएसपी गणेश बमले बताउनुभयो । अहिले सदरमुकाम चैनपुरबाट प्रमख जिल्ला अधिकारी कमलराज भण्डारीसहित डीएसपी गणेश बम र जिल्ला अस्पतालबाट डाक्टरसहितको टोली घटनास्थलतर्फ जाने तयारी भइरहेको डीएसपी बमले बताउनुभयो । अहिले उक्त क्वारेन्टाइनमा तीन जना छन् ।