अर्जुन काफ्ले
स्याङ्जा, असार ८ गते । कोरोना भाइरसको सङक्रमण दिनदिनै बढिरहँदा स्याङ्जामा सोमबार एकै वडाका १० जनासहित १३ जनामा सङक्रमण भएकाे छ । नयाँ सङक्रमित थपिएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ९९ पुगेको छ ।
कोरोनाका नयाँ सङ्क्रमित थपिनेमा अर्जुनचौपारी गाँउपालिका-५ का १० जना, वडा नं ४ का एक जना र कालीगण्डकी गाँउपालिकाका दुई जना रहेका छन् । अर्जुनचौपारी-५ का ७ वर्षका तीन बालकसहित १४, १६, ३०, ३१, ३० र ३८ वर्षका पुरुष र छ वर्षकी बालिकासहित ५० वर्षकी एक महिलामा सङक्रमण पुष्टि भएकाे हाे । वडा नं. ४ का एक ५० वर्षीय पुरुषमा सङक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो । त्यस्तै कालिगण्डकी गाँउपालिकाका ४८ वर्षका एक पुरुष सङक्रमित भएको शर्माले जानकारी दिनुभयो ।
सङक्रमित १२ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका हुन् भने एक जना स्थानीय रहेका छन् । अर्जुनचौपारी गाँउपालिकामा सङक्रमित जेठ १७ गते भारतबाट आएर घण्टे माविमा क्वारेन्टाइनमा बसेको र जेठ २८ गते स्वाब लिइएको थियो ।
स्याङ्जाका ९८ जना सङक्रमितमध्ये सात जना निको भएर घर फर्किएका छन् भने एक जना सङक्रमितको निधन भएको छ ।
स्थानीयमा कोरोना भेटिएपछि त्रास, गाउँपालिकामा अघोषित सिल
अर्जुन चौपारी गाउँपालिका -४ मा ५५ वर्षीय स्थानियमा कोरोना सङक्रमण भेटिएपछि त्रास फैलिएको छ । आँधिखोला -१, पञ्चमुललमा रासन, फेन्सी तथा खाजाको पसल गरेर बसेका एक स्थानीयमा सङक्रमण देखिएपछि अर्जुन चौपारी र पञ्चमुलमा त्रास फैलिएको हो ।
व्यवसाय सञ्चालन गरेर बसेका एक जनामा सङक्रमण भेटिएपछि पञ्चमुल र अर्जुन चौपारीमा कन्ट्याक्ट ट्रेसिङलाई तीव्र पारिएको छ । ज्वरो देखिएपछि फेवासिटी अस्पतालमा उपचार गर्न पुगेका उनलाई भर्ना नगरेपछि गण्डकी क्षेत्रीय अस्पतालमा कोरोना परीक्षण गर्ने क्रममा पोजिटिभ देखिएको हो ।
स्थानीयमा कोरोना देखिएपछि सङक्रमितको सम्पर्कमा रहेका व्यक्ति अर्जुन चौपारी बजारमा आएको देखिएकाले गाउँपालिका बजार अर्को सूचना प्रकाशित नगरेसम्म बन्द गरिएको छ भने अत्यावश्यक सबै सेवासमेत बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमले सूचनामार्फत जानकारी गराउनुभएको छ । गाउँपालिकाका अन्य ठाउँमा सतर्कता अपनाउन आग्रह गरिएको छ भने आँधीखोला -१, पञ्चमुलमा स्थानीयमा उच्च सतर्कताको अपिल गरिएको छ ।
जिल्ला अस्पताल स्याङ्जामा भेन्टिलेटर
पुतलीबजार नगरपालिका-३ मा रहेकाे जिल्ला अस्पताल स्याङ्जामा युनिभर्सल एनेस्थेसिया विथ भेन्टिलेटर उपलब्ध भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालको पहलमा भेन्टिलेटर उपलब्ध भएको हो ।
जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला जिल्ला अस्पतालमा भेन्टिलेटर उपलब्ध गराइएको हो ।
एनेस्थेसिया मेसिन बिरामीलाई पुर्णतः बेहोस बनाउने मेसिन भएको बताउँदै अस्पतालका डा. सुशील मरासिनीले जिल्ला अस्पतालमा यस्तो मेसिन पहिलो पटक ल्याइएकाे बताउनुभयो । श्वासप्रस्वाससम्बन्धी समस्या भएमा बिरामीलाई मेसिनको प्रयोगबाट श्वासप्रस्वास गराउन भेन्टिलेटरको प्रयोग गरिने मरासिनीले बताउनुभयो ।
मन्त्री अर्यालका निजी सचिव राजेश शर्माले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्मा र अस्पतालका प्रमुख डा. सुशील मरासिनीलाई मेसिन हस्तान्तरण गर्नुभएको हाे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त मेसिन मन्त्रीको पहलमा गृहजिल्ला र तनहुँको दमौली अस्पताललाईसमेत उपलब्ध गराइएको निजी सचिव शर्माले बताउनुभयो ।
बायोमेडिकल ईन्जिनियरले उक्त मेसिन अस्पतालमा जडान गरिदिने र अस्पतालका डाक्टर, नर्स र ल्याबकर्मीलाई दुई दिने तालिम दिइएपछि मेसिन प्रयोगमा आउनेछ । त्यस्तै मन्त्री अर्यालले जिल्ला अस्पताल र गल्याङ अस्पताललाई गरी ५० थान मेडिकल पीपीई उपलब्ध गराउनुभएको छ । ती सामग्री जिल्ला अस्पतालमा आवश्यक पर्ने, अस्पतालमै प्रयोग हुने र अन्य अस्पतालमा आवश्यक परेमा पठाइने अस्पतालका डा. मरासिनीले बताउनुभयो ।