logo
२०८१ मंसिर १३ बिहीवार



सप्तरीमा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि

फिचर |


सप्तरीमा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि


धीरेन्द्रप्रसाद साह

राजविराज, असार ८ गते । सप्तरीमा सोमबार थप १३ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १७३ पुगेको छ । एक दिनअघि मात्र आइतबार दुई जनाको स्वाब रिपोर्ट पोजेटिभ आएको थियो । 

जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकामा दुई, बलानबिहुल गाउँपालिकामा चार, राजगढ गाउँपालिकामा पाँच र राजविराज नगरपालिकामा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । हनुमाननगर कङ्कालिनीका दुई जना सङ्क्रमितहरूको जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा र अन्य ११ जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको उहाँले जानकारी दिनुभयो ।

कोरोना पुष्टि भएका हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नंं. ४ का २९ र २४ वर्षका पुरुष रहेका छन् भने बलानबिहुल गाउँपालिका-४ का १६, वडा नं. ३ का ४२, ३८ र ३८ वर्षका पुरुष रहेको बताइएको छ । त्यस्तै, राजगढ गाउँपालिका वडा नं. २ का २४ र ३५, वडा नं. ६ का २३, २७ र ३१ र राजविराज नगरपालिका वडा नं. १० का ३८ वर्षका दुई पुरुषहरू रहेको निमित्त प्रमुख यादवले बताउनुभयो ।

सङ्क्रमितहरू भारतको हरियाणा, दिल्ली, पञ्जाबलगायत विभिन्न स्थानबाट आएका थिए । उनीहरू स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइनमा रहेको छ । नयाँ थप भएका सङ्क्रमितलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालयका निमित प्रमुख यादवले जानकारी दिनुभयो ।

जिल्लामा कुल सङ्क्रमितमध्ये ७१ जना निको भएर घर फर्किसकेका छन् । अहिले ८७ जना मात्र आइसोलेसनमा उपचारत छन् । तीमध्ये ३० जनाको स्वाब पुनः सङ्कलन गरी पीसीआर परीक्षणको लागि पठाइएको छ । उनीहरूको स्वाब रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिने बताइएको छ ।

नयाँ थप भएसँगै जिल्लाको बोदेबर्साइन नगरपालिकामा ३२, हनुमाननगर कङ्कालिनी नगरपालिकामा ३७, बलान बिहुल गाउँपालिकामा ३१, छिन्नमस्ता गाउँपालिकामा १५, राजगढ गाउँपालिकामा १८, राजविराज नगरपालिकामा १५, डाकनेश्वरी नगरपालिकामा १२, खडक र कञ्चनरुप नगरपालिकामा तीन/तीन जना, सुरुङ्गा, शम्भुनाथ नगरपालिका तथा  बिष्णुपुर, तिरहुत, महादेवा र तिलाठी कोइलाठी गाउँपालिकामा एक/एक जना सङ्क्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?