लीलाराज झापाली
बिर्तामोड, असार ८ गते । कोरोना सङ्क्रमित महिलाले क्वारेन्टाइनमा आएका आफ्न्त बच्चालाई काखमा लिएर चुम्मासमेत खाएको पाइएपछि झापाको कनकाई नगरपालिका पाँच दिनका लागि सिल गरिएको छ ।
गत जेठ ३२ गतेदेखि कनकाई नगरपालिका-७ स्थित दलित भवनको क्वारेन्टाइनमा बस्दैआएकी एक ३१ वर्षीय युवतीको पीसीआर रिपाेर्ट पाेजिटिभ देखिएको थियो । ती युवती केही दिन अघिमात्रै कुवेतबाट आउनुभएको कनकाई नगरपालिकाका स्वास्थ प्रमुख ब्रजेश मेहत्ताले बताउनुभयो ।
युवतीसहित अन्य सात जना सोही क्वारेन्टाइनमा रहँदैआएका थिए । क्वारेन्टाइनका प्रहरी बिरामी भएर औषधि लिन अन्यत्र गएको बेला घरबाट आफन्तहरू क्वारेन्टाइनमा छिरेका थिए भने उनका आफन्तका एक बच्चालाई क्वारेन्टाइनमा रहेकी युवतीले काखमा लिएर चुम्मासमेत खाएकी थिइन् र बच्चालाई केही पैसासमेत दिएकी थिइन् ।
ती बच्चा र आफन्तहरू सुरुङ्गा बजार र दुर्गापुर बजारमा गई किनमेल गर्नुको साथै बैङ्कमा समेत गएको पाइएको कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।
कुवेतबाट आएकी युवतीमा आइतबार कोरोना पाेजिटिभ देखिएपछि उनको सम्पर्कमा आएका सबैको निगरानी राख्न तत्काल कनकाई नगरपालिकाको १ देखि ७ नम्बर वडासम्म सोमबारदेखि शनिबार राति १२ बजेसम्म सिल गरिएको र उनको घरवरिपरिका १५ घरलाई रातो झण्डा लगाएर हिँड्डुलमा प्रतिबन्ध लगाएको नगरप्रमुख पोखरेलले बताउनुभयो ।
सङ्क्रमित युवतीको घर र क्वारेन्टाइन नजिक रहेकाले समेत क्वारेन्टाइनमा रहेकाहरूको सम्पर्कमा आफन्त पुगेको कनकाई नगरपालिकाका क्वारेन्टाइन फोकल पर्सन लक्ष्मी अधिकारीले बताउनुभयो ।
कनकाई नगरपालिकामा यसअघि स्थानीय कनकाई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा समेत रहेका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनीहरू हाल विराटनगरमा उपचारमा रहेका छन् ।