logo
२०८१ मंसिर १३ बिहीवार



आयुर्वेद औषधालयमा सेवाग्राही बढ्दै

फिचर |


आयुर्वेद औषधालयमा सेवाग्राही बढ्दै


जयकृष्ण यादव
इनरुवा, असार ९ गते । सुनसरीको विभिन्न नगरपालिका, उपमहानगरपालिका र गाउँपालिकाहरूमा रहेको आयुर्वेद औषधालयमा सेवाग्राही बिरामी आउने क्रम बढेको छ । विश्वभर नै कोरोनाको महामारी फैलिएको र एकिन औषधि पत्ता नलागेकाले गाउँका सेवाग्राहीहरू आयुर्वेद स्वास्थ्य सेवा लिन सेवाग्राहीहरू आयुर्वेद औषधालयमा आउने क्रम बढेको हो । विगतको तुलनामा तीन-चार महिनायता कप्तानगञ्ज आयुर्वेद औषधालयमा सेवाग्राहीको सङ्ख्या दोब्बर आउने गरेको छ । माघसम्म दैनिक पाँचदेखि १० जनासम्म सेवाग्राही आउने गरेकोमा फागुनदेखि हालसम्म दैनिक १५ देखि ३० जनासम्म सेवाग्राही सेवाका लागि आउने गरेको कप्तानगञ्ज आयुर्वेद औषधालय वरिष्ठ कविराज जिवछ पञ्जियारले जानकारी दिनुभयो ।

विगतमा आयुर्वेदतर्फ त्यति धेरै वास्ता नगर्ने सेवाग्राहीसमेत कोरोनाको कहर सुरु भएपछि आयुर्वेद औषधिका लागि आउने क्रम बढेको हो । आयुर्वेद औषधालयमा रुघाखोकी, पेट, हाड, नाक, टाउको लगायतको समस्या भएका सेवाग्राही तथा बिरामीहरू आउने क्रम बढेको पञ्जियारको भनाइ छ । उहाँले दिएको जानकारी अनुसार सेवाग्राहीहरूलाई सामान्य परीक्षण गर्ने र बिरामीको अवस्था हेरेर औषधि निःशुल्क रुपमा एक हप्तादेखि महिना दिनसम्म खान पुग्ने गरी वितरण गर्दैआएको छ । कप्तानगञ्ज आयुर्वेद औषधालयमा सेवाग्राही र बिरामीको चापको आधारमा देवानगञ्ज गाउँपालिकाबाट चालु आर्थिक वर्षमा औषधि खरिद गरेकाले औषधिको अभाव नभएकोसमेत जनाएको छ । यहाँ अगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट, नीति तथा कार्यक्रममा समेत आयुर्वेद औषधालय र औषधिका बारेमा उल्लेख गरी बजेट ल्याउने भएको छ ।

उता मधुवन आयुर्वेद औषधालयमा विगतको तुलनामा सेवाग्राहीहरू आउने क्रम बढेको आयुर्वेदका दिपेश मेहताले जानकारी दिनुभयो । आयुर्वेद औषधालयमा सेवाग्राही र बिरामीको चापको अधारमा औषधिसहित पञ्चकर्मका लागि औषधालयको माथिल्लाे तल्लामा ट्रष्ट बनाएर योगसहितको व्यवस्था मिलाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीमा पनि विगतको तुलनामा सेवाग्राही बिरामी आउने क्रम बढेको प्रमुख डा.सूर्यनारायण मेहताले जानकारी दिनुभयो । मेहताका अनुसार जिल्लाको इनरुवा, धरान , इटहरी, बराहक्षेत्र, भोक्राहा नरसिंह, कोशी, हरिनगर, देवानगञ्ज सहितका १० पालिकामा आयुर्वेद स्वास्थ्य केन्द्र र औषधालयहरू रहेकोमा सबैतिर सेवाग्राही बढेको छ ।
डा. मेहताका अनुसार आयुर्वेद औषधिको साइड इफेक्ट नभएकाले सबै खाले बिरामीलाई निको पार्ने, निको नभए बिरामीलाई थप जटिल हुन नदिने र स्वस्थ्य रहन मद्दत गर्ने भएकाले आयुर्वेद औषधालयमा सेवाग्राही बिरामी आउने क्रम बढेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?