logo
२०८१ मंसिर १४ शुक्रवार



काठमाडौँमा उपचाररत उदयपुरकी महिलामा कोरोना पुष्टि, गाउँ सिल गरियो

फिचर |
प्रदेश |


काठमाडौँमा उपचाररत उदयपुरकी महिलामा कोरोना पुष्टि, गाउँ सिल गरियो


भाेटराज राई
उदयपुर, असार ९ गते । उदयपुरको गाईघाटकी एक महिलामा मङ्गलबार कोरोना सङ्क्रमण देखिएपछि घर आसपासमा सिल गरिएको छ । उपचारको लागि काठमाडौँ पुगेकी ५४ वर्षीया महिलामा पीसीआर जाँच गर्दा पोजिटिभ देखिएपछि गाईघाटस्थित घर र आसपासको क्षेत्रमा सिल गरिएको हो ।
गाईघाटको पुरानो पेट्रोल पम्प (एसके पेट्रोलपम्प) छेउमा रहेको सङ्क्रमितको घर र घरदेखि १५० मिटर आसपासको क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सिल गरेको हो । सिल गरिएको क्षेत्रलाई सुरक्षा घेराभित्र राखिने जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताउनुभयो । सुरक्षाभित्रको क्षेत्रमा कसैलाई प्रवेश गर्न र भित्रकालाई बाहिर निस्कन दिइँदैन ।
गत जेठ ३० गते गाईघाटदेखि उपचारको लागि विराटनगर हुँदै असार १ गते काठमाडौँको न्यूरो हस्पिटल पुगेको बुझिएको छ । उनी प्रेसरको बिरामीका कारण उपचारका लागि गएको बुझिएको छ । आजभन्दा १२ दिनअघि गाइघाटबाट हिँडेको देखिन्छ । उनलाई सङ्क्रमण कहाँ भयो भन्नेबारे प्रष्ट हुन सकेको छैन । कोरोना पुष्टि भएपछि उनलाई काठमाडौँकाे टिचिङ हस्पिटल लगिएको बुझिएको छ । महिलामा कोरोना पुष्टि भएसँगै गाईघाट बजारमा सन्त्रास फैलिएको छ ।
योसँगै उदयपुरमा सङ्क्रमितको सङ्ख्या ५३ पुगेको छ । सबैभन्दा पहिले उदयपुरको त्रियुगा नगरपालिकाअन्तर्गत भुल्केमा ३२ जना कोरोना सङ्क्रमित भेटिएका थिए । पुस २ गते गाईघाटको शान्तिनगरटोलमा एक जनामा सङ्क्रमण भेटिएको थियो । भुल्के र शान्तिटोलका सबै निको भएर फर्किसकेका छन् । भारतबाट आएकालाई मोतीगडा क्वारेन्टाइनमा राखेर परीक्षण गर्दा त्यहाँ  आठ जनामा कोरोना पुष्टि देखिएको थियो । आज फेरि गाईघाटको पुरानो पेट्रोलपम्प छेउका महिलामा कोरोना स3क्रमण देखिएको हो ।
जिल्लाको बेलका नगरपालिकामा पाँच जना सङ्क्रमित देखिएका छन् । उनीहरू सबै भारतबाट आई क्वारेन्टानमा परीक्षण गर्दा पत्ता लागेका हुन् । उनीहरूमध्ये एक जना महिला निको भएर फर्किसकेकी छिन् । कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा दुई/दुईजना भेटिएका छन् । उनीहरू पनि भारतबाटै आएका हुन् । ताप्ली गाउँपालिकाका एक जना सङ्क्रमित पनि भारतबाटै आएका हुन् । चौदण्डीगढी नगरपालिकाका एक जना भने स्थानीय हुन् । वडा नं. ५ सिवाईका उनी निको भएर फर्किसकेका छन् ।
उदयपुर जिल्लामा गत जेठ ५ गतेबाट कोरोना सङ्क्रमण फेला पर्न थालेको हो । सबैभन्दा पहिले त्रियुगा नगरपालिका -३ भुल्केमा जमाती समूहका १२ जनामा एकैचोटी सङ्क्रमण पुष्टि भएको थियो ।
भुल्केमा फेला परेको सङ्क्रमण तत्काल सिल गरेर नियन्त्रणमा लिइएको थियो । भुल्केमा १२ जनामा थपिँदै २८ जनामा सङ्क्रमण पुष्टि भएकोमा पछि पुनः परीक्षण गर्दा थप चार जना भेटिँदा जम्मा ३२ जना सङ्क्रमित भेटिएका हुन् । ती ३२ जना नै एउटै बस्तीका मुस्लिम समुदायका हुन् । त्यस समुदायभन्दा बाहिर गाईघाटमा एक सञ्चारकर्मी युवामा कोरोना सङ्क्रमण देखिएको थियो । ताप्ली घर भएका उनी हाल निको भएर ताप्लीस्थित घरमै फर्किसकेका छन् । उनी गएको पुस २ गते कोराना भएको पुष्टि भएका थिए । उनीपछि जिल्लामा कोरोना नियन्त्रणको अवस्थामा रहेको थियो ।

त्यसैबीचमा भारतबाट धमाधम जिल्लाबासी आउन आउन थाले । सम्बन्धित पालिकाले क्वारेन्टाइनमा राखेर परीक्षण गर्दा त्रियुगाबाहेकका अन्य पालिकाहरूका भारतबाट आएका नागरिकमा कोरोना देखिएको हो । उनीहरू क्वारेन्टाइनमै बसेको अवस्थामा पुष्टि भई कोरोना अस्पताल पठाइने गरेको थियो । यस हिसाबले जिल्ला सुरक्षित अवस्थामा रहेको थियो ।
आज गाइघाटकी महिला उपचारको लागि काठमाडौँ गएको अवस्थामा कोरोना पुष्टि भएको खबरले जिल्लाको अन्य समुदायमा पनि कोरोना फैलिसकेको हो कि भन्ने आशङ्का पैदा गरेको छ । यद्यपि उनको कन्ट्याक्ट ट्रेसिङ गरेर परीक्षण गरेपछि त्यसको रिपोर्टबाट अवस्था थाहा हुने सरकारी अधिकारीहरूको भनाइ छ ।
ती महिला गाईघाटमै सङ्क्रमित भएको हो वा उपचारको क्रममा जाँदा बाहिर सङ्क्रमण भएको हो भन्ने स्पष्ट भइनसकेको अवस्था छ । सङ्क्रमितको घर र आसपासको क्षेत्र सिल गरिसकिएकोले सर्वसाधारण अत्तालिनु जरुरी नरहेको सुरक्षा अधिकारीहरूको भनाइ छ । तर, सचेत र सतर्कता अपनाउन भने जरुरी रहेको उनीहरूको भनाइ छ ।
पछिल्लो समय लकडाउन खुकुलोको नाममा गाईघाट सामान्य अवस्थामा देखिएको छ । मानिसहरूको चहलपहल र भीडभाड अति बढी हुने गरेको छ । विद्युत कार्यालय, बैङ्कहरू, पसलहरूमा मानिसले लापरवाहीपूर्ण ढङ्गले व्यवहार देखाइरहेको देखिएको छ । यसले कोरोनाको जोखिम बढेर गएको छ । त्यसप्रति सर्वसाधारण नागरिकहरू सचेत हुनुपर्ने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?