logo
२०८१ मंसिर १३ बिहीवार



बाँकेमा तीन दिनदेखि कोरोना सङ्क्रमित नभेटिएपछि परीक्षणको दायरा बढाइयो

फिचर |
पढ्नै पर्ने |


बाँकेमा तीन दिनदेखि कोरोना सङ्क्रमित नभेटिएपछि परीक्षणको दायरा बढाइयो


सिराज खान

नेपालगञ्ज, असार १० गते । बाँकेमा गत तीन दिनदेखि नयाँ काेराेना सङ्क्रमित नभेटिएपछि परीक्षणको दायरालाई झनै फराकिलो बनाउँदै थप सम्भावित ठाउँहरूको पहिचान गरेर स्वाब सङ्कलन थालिएको छ ।
स्वास्थ्य कार्यालय, बाँकेले दिएको जानकारी अनुसार गत तीन दिनमा जिल्लाका विभिन्न ठाउँबाट सङ्कलन गरिएका २५० जना बढीको स्वाब परीक्षण गर्दा कसैलाई पनि सङ्क्रमण पुष्टि भएको छैन । विभिन्न क्वारेन्टाइनमा रहेकाहरूको सङ्ख्या पनि घट्दैगएको र तीन दिनयता जिल्लामा कुनै नयाँ काेराेना पोजिटिभ व्यक्ति नभेटिएको अवस्थालाई सन्तोषजनक मान्दै परीक्षणको दायरालाई थप फराकिलो पार्ने कार्य शुरु गरिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

उहाँले नेपालगञ्ज, कोहलपुर, नरैनापुर र खजुरामा सम्भावित ठाउँहरूको पहिचान गरेर बुधबारदेखि थप स्वाब सङ्कलन शुरु गरिएको बताउनुभयो । शङ्कास्पद र सम्भावित ठाउँहरूको पहिचान गरेर सङ्क्रमितको खोजी गर्ने कार्यलाई तीव्र पारिएको फोकल पर्सन श्रेष्ठको भनाइ छ ।

बुधबार नेपालगञ्जमा स्वाब सङ्कलन भइरहेको र क्रमशः कोहलपुर, नरैनापुर तथा खजुरामा पनि समुदायमा परीक्षणलाई बढाउँदै लगिने स्वास्थ्य कार्यालयले जनाएको छ । केही समयअघि बाँकेको नेपालगञ्ज, नरैनापुर, जानकी र राप्तीसोनारीमा धेरै सङ्क्रमित देखिएकोमा अहिले आएर पुराना सङ्क्रमित निको भएर फर्किने क्रम बढेसँगै क्वारेन्टाइन पनि खाली हुँदैगएको र नयाँ सङ्क्रमित नदेखिएकोले सतर्कताका लागि थप परीक्षण शुरु गर्न लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो ।

उहाँले हाल आएर बाँकेको अवस्था सामान्य भइसकेकोले नियमित कार्यअन्तर्गत परीक्षणलाई निरन्तरता दिँदै सङ्क्रमितको खोजी जारी रहेको बताउनुभयो । स्वास्थ्य कार्यालयका अनुसार बाँकेका विभिन्न क्वारेन्टाइनबाट हालसम्म १० हजार बढी घर फिर्ता गइसकेका छन् । अहिले एक हजार २९४ जना क्वारेन्टाइनमा रहेका छन् ।

जिल्लामा छ हजार ३५२ जनाको पीसीआर परीक्षण गर्दा ३४२ जना पोजिटिभ देखिएकोमा दुई जनाको मृत्यु भएको र २६० जना निको भएर घर फर्किसकेका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?