नेत्र शाही
खलङ्गा, असार १० गते । अस्पतालका कर्मचारीहरूमा कोरोना सङ्क्रमण देखिएपछि समुदायमा फैलिन नदिन, आशङ्कित व्यक्ति खोजी कार्य तथा परीक्षणका लागि भन्दै जुम्ला सदरमुकामा निषेधाज्ञा जारी गरिएको छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा जारी निषेधाज्ञा असार १० गते दिउँसो ३ बजेबाट अर्को निर्णय नभएसम्मका लागि जारी गरिएको हो ।
स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा सङ्क्रामक रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ दफा ६ (३) बमोजिम गरिएको छ । यसैगरी निशेधाज्ञा जारी गरी सिल गरिएको क्षेत्र चन्दननाथ नगरपालिकाको पूर्वमा दान साँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिल्ला नदीसहितका चार किल्ला रहेका प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो ।
आजै कोभिड कमाण्ड नियन्त्रण समितिको बैठकको निर्णय अनुसार र जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार असार १० गते ३ बजेदेखी निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले ईमरजेन्सी सेवाबाहेक सबै बन्दसमेत गरिसकेको छ । प्रतिष्ठानका स्वास्थ्यकर्मीहरूको आजै सबैको स्वाब लिइएको जनाइएको छ ।
कर्णाली प्रतिष्ठानमा काम गरिरहेका चार जना र एक जना अन्य गरी पाँच जनामा कोरोना पोजिटिभ देखिएपछि सर्तकता अपनाइएको छ ।