प्रतीक शर्मा इच्छुक
सल्यान, असार १० गते । स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएसँगै जिल्ला अस्पताल सल्यानले ईमरजेन्सीबाहेक सबै सेवा अनिश्चितकालका लागि रोकिएको छ ।
अस्पताल सल्यानमा कार्यरत ४५ वर्षका पुरूष स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि सेवा रोकिएको हो ।
जिल्लाका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेकाहरूको स्वाब सङ्कलनमा संलग्न रहेका ती स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय, सल्यानले जनाएको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानमा प्रमुख डा. अर्जुन बुढाले सङ्क्रमित पुरुषको असार ५ गते स्वाब सङ्कलन गरी सुर्खेत पठाइएकोमा बुधबार रिपोर्ट पोजिटिभ आएको बताउनुभयो ।
उहाँका अनुसार सात जना स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गरिएकोमा अन्य छ जनाको भने नेगेटिभ आएको छ । यस्तै, अस्पतालमा कार्यरत ७६ जनाभन्दा बढी कर्मचारीहरूको स्वाब सङ्कलन गरिएको छ ।