logo
२०८१ असोज ९ बुधवार



संवैधानिक सुधारका लागि रुसमा मतदान, पुटिनको कार्यकाल १२ वर्ष थपिने

फिचर |
अन्तर्राष्ट्रिय |


संवैधानिक सुधारका लागि रुसमा मतदान, पुटिनको कार्यकाल १२ वर्ष थपिने
तस्विर-अलजजिरा


गोरखापत्र अनलाइन
काठमाडौँ, असार ११ गते । रुसले संवैधानिक सुधारका लागि मतदान गर्दैछ । मतदानको परिणाम पक्षमा आए राष्ट्रपति भ्लादिमिर पुटिनको दुई कार्यकाल थप्ने अनुमति दिनेछ ।
आधिकारिक रुपमा मतदान जुलाई एकका लागि निर्धारण गरिएको छ । तर कोरोना महामारीको बेला मतदानस्थलमा भिड नगर्न एक साता अघि नै मतदान खुला गरिने अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
विपक्षी नेता अलेक्जै नभाल्नीले भने परिवर्तनले पुटिनलाई आजीवन राष्ट्रपति बनाउने टिप्पणी गर्नुभएको छ । तर पुटिनले भने रुसको स्थिरता सुनिश्चित गर्न आवश्यक रहेको दाबी गर्नुभएको छ । राष्ट्रपति पुटिनको कार्यकाल सन् २०२४ मा समाप्त हुनेछ । सार्वजनिक रुपमा पुटिनले आफू त्यसपछि पनि सक्रिय भएर लाग्ने सम्बन्धमा केही खुलाउनुभएको छैन । तर उहाँले आफूले विकल्प खुला राखेको बताउँदै आउनुभएको छ ।
मतदानले लगातार दुई पटक राष्ट्रपतिको सीमिततालाई अन्त्य गरी दुई पटक छ वर्षे कार्यकाल पूरा गर्ने गरी बदलाव गर्नेछ । पुटिनलाई सन् २०३६ सम्म नेतृत्व गर्ने अनुमतिको सम्भावनासँगै मतदानले शीर्ष न्यायाधीश र अभियोजनकर्ताको नियुक्तिको अधिकारसमेत प्रदान गर्नेछ ।
संविधानमा समलिङ्गी विवाहमा प्रभावकारी बन्देजसँगै परम्परागत विषयवस्तु समेटिनेछ । त्यसैगरी, आर्थिक परिवर्तनको पक्षहरू समेत समेटिनेछ । जसअन्तर्गत न्यून ज्याला र आर्थिक अवस्थामा निवृत्तीभरणको व्यवस्थापन गरिने व्यवस्था गरिनेछ ।
मतदानमा बाल्टिक कोस्टको कालिनिन्ग्राडदेखि कमचटका क्षेत्रका करिब एक करोड दश लाख मतदाता सहभागी हुनेछन् । अधिकारीहरूले मतदान स्थलमा मतदातालाई मास्क, स्यानिटाइजर प्रदान गरेका छन् । विद्रोही समूहका कब्जा रहेको युक्रेनी भूभागका एक लाख ५० हजार व्यक्तिलाई समेत मतदानको अधिकार दिइएको छ ।
६७ वर्षीय पुटिनले प्रधानमन्त्री र राष्ट्रपतिको रुपमा रुसलाई २० वर्षसम्म नेतृत्व दिनुभएको छ । तर पछिल्लो समयमा उहाँको लोकप्रियतामा भने ह्रास आएको छ । पुटिनले सन् १९९३ को रुसी संविधानमा सुधारका लागि गत जनवरी महिनामा प्रस्ताव ल्याउनुभएको थियो ।
उक्त प्रस्ताव मस्कोस्थित दुवै सदनले स्वीकृत गरिसकेको छ । तर राष्ट्रपति पुटिनले भने जनमतले वैधानिकता प्रदान गर्ने हुनाले मतदान हुनुपर्ने तर्क गर्नुभयो । र अप्रिलका लागि निर्धारित मतदान कोरोना भाइरस महामारीको कारण जुलाईमा मात्रै सम्भव हुन सकेको हो ।
यद्यपि कोरोनाको सङ्क्रमण रोकिएको छैन । पछिल्लो २४ घण्टामा रुसमा सात हजार ११३ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । गत मे महिनामा रुसमा एक सातासम्म लगातार १० हजारभन्दा बढी सङ्क्रमित थपिएको थियो । रुसमा कुल छ लाख १३ हजार ९९४ जना सङ्क्रमित छन् । आठ हजार ६०५ जनाको मृत्यु भएको छ । तर आलोचकहरूले उक्त सङ्ख्या धेरै बढी हुने दाबी गरेका छन् ।
(बीबीसीबाट अनुवादित)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?