सिराज खान
नेपालगञ्ज, असार १२ गते । कोहलपुर शिक्षण अस्पतालमा पहिलो पटक शल्यक्रिया गरिएका दुई जना महिला सङ्क्रमितसहित तीन जनाले कोरोनालाई जितेका छन् । सफल शल्यक्रियापछि आइसोलेसनमा उपचार गराइरहेका दुई जना महिला र शल्यक्रियाका लागि भर्ना गरिएपनि बिना शल्यक्रिया नै ठिक भएका एक जना वृद्ध पुरुष गरेर तीनै जनाको पीसीआर रिपोर्ट नगेटिभ आएपछि नर्मल वार्डमा सारेर उपचार भइरहेको नेपालगञ्ज मेडिकल कलेजका सहनिर्देशक डा. नितेशकुमार कनोडियाले बताउनुभयो ।
शुक्रबार कोहलपुर शिक्षण अस्पतालमा गरिएको पत्रकार सम्मेलनमार्फत सो जानकारी गराउँदै मेडिकल कलेजका सहनिर्देशक डा. कनोडियाले कोरोना सङ्क्रमित अछाम चौरपाटी गाउँपालिकाकी २५ वर्षीया १८ हप्ताकी गर्भवती महिला र कपिलवस्तु कृष्णनगरकी २७ वर्षीया ३८ हप्ताकी सङ्क्रमित गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको बताउनुभयो ।
सोही प्रकारले रुकुम सानो भेरी नगरपालिका वडा नम्बर १ का ८२ वर्षीय कोरोना सङ्क्रमित जेष्ठ नागरिक पनि शल्यक्रियाका लागि भर्ना भए पनि बिना शल्यक्रिया नै उहाँको उपचार गर्नुका साथै कोरोना रिपोर्टसमेत नगेटिभ आएकाले नर्मल वार्डमा शिफ्ट गरिएको छ ।