बेलिना थापा
लमजुङ, असार १३ गते । लमजुङमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण जितेर तीन जना घर फर्कनुभएकाे छ । बेँसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसनमा भर्ना भएको पाँच दिनमा उहाँहरू कोरोना जितेर घर फर्कनुभएकाे हाे । लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार कोरोनालाई जितेर घर फर्कनेमा मध्यनेपाल नगरपालिका-४ घर भएका ४२ वर्षीय विनोद आलेमगर र २० वर्षीय रोहित सुनार, बेँसीसहर नगरपालिका-३ कि २१ वर्षीया हरिमाया विक हुनुहुन्छ ।
कोरोना जितेका तीनै जनालाई शुक्रबार साँझ बधाईका साथ फूलको गुच्छा दिएर, खादा लगाएर, कोरोना निको भएको प्रमाणपत्र हस्तान्तरण गरी बिदाइ गरिएको छ । उहाँहरूलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले फूलको गुच्छा दिनुभएको थियो । लमजुङ जिल्ला सामुदायिक अस्पतालका डा. शरण लिम्बुले कोरोना निको भएको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
कोरोना जितेकालाई प्रमुख जिल्ला अधिकारी शर्मा, प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापा, सशस्त्र प्रहरी नायब उपरीक्षक रमेशकुमार गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाही, काजीमान सुनार, स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडी, लमजुङ जिल्ला सामुदायिक अस्पताल प्रमुख हेमन्त श्रेष्ठ, डाक्टर शरण लिम्बू, जिल्ला आयुर्वेद कार्यालयका निमित्त प्रमुख शम्भूप्रसाद चापागाइँलगायतले बिदाइ गर्नुभएको थियो ।
पीसीआर प्रविधिबाट कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि तीनै जनालाई सोमबार क्वारेन्टाइनबाट लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसनमा ल्याइएको थियो । भारतको विभिन्न शहरबाट आएका उहाँहरूलाई उद्धार गरेर सिधै क्वारेन्टाइनमा ल्याएर राखिएको थियो । क्वारेन्टाइनमा स्वाब लिएपछि १३-१४ दिन क्वारेन्टाइन नै बसेका उहाँहरूलाई आइसोलेसनमा राखिएकोमा पुनः कोरोना परीक्षणको लागि थ्रोट स्वाब लिएर पोखरा पठाइएको थियो । शुक्रबार थ्रोट स्वाबको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि तीन जनालाई शुक्रबार साँझ डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका डा. लिम्बूका अनुसार क्वारेन्टाइनमा १२-१३ दिन बसेको र अस्पतालको आइसोलेसनमा पाँच दिन बसेको, आइसोलेसनमा आइसकेपछि पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको र कुनै खालको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको हो । उहाँहरूलाई केही दिन घरमै सुरक्षित भएर सेल्फ क्वारेन्टाइनमा रहन, सकेसम्म घर बाहिर ननिस्कन अनुरोध गरिएको उहाँले बताउनुभयो ।
लमजुङमा कुल सङ्क्रमित १६ जनामध्ये तीन जना घर फर्किएपछि बाँकी १३ जना आइसोलेसनमै रहेका छन् । हालसम्म ३४७ को स्वाब परीक्षणका लागि पोखरा लगिएको छ भने ३०५ जनाको नेगेटिभ आएको छ । अन्य २६ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको क्वीक रेस्पोन्स टीम (क्युआरटी) ले जनाएको छ ।