logo
२०८१ बैशाख २४ सोमवार



अत्यधिक वर्षाले रुद्राक्षको फूल नष्ट, व्यवसायी चिन्तित

फिचर |
प्रदेश |


अत्यधिक वर्षाले रुद्राक्षको फूल नष्ट, व्यवसायी चिन्तित
सङ्खुवासभामा पानी पर्नु अघिको रुद्राक्षको फूल । तस्विरः ध्यान कुलुङ


ध्यान कुलुङ
सङ्खुवासभा, असार १४ गते । कोरोनाका कारण अस्तव्यस्त भएको रुद्राक्ष व्यवसाय अत्यधिक वर्षाको कारण थप धराशायी बनेको छ । अत्यधिक वर्षा भएपछि ढकमक्क फुलेको रुद्राक्षको फूल बोटमै कुहिएर नष्ट भएपछि व्यवसाय नै सङ्कटमा परेको हो ।
रुद्राक्षको फूल फुल्ने यो समयमा लगातार वर्षा भएपछि करिब ७५ प्रतिशत फूल बोटबाट झरिसकेको रुद्राक्ष व्यवसायी सङ्घ सङ्खुवासभाका अध्यक्ष चक्र विसुङ्केको भनाइ छ । घामपानीको कारण अधिकांश रुद्राक्षको बोट फूलविहीन बनेको अध्यक्ष विसुङ्केले बताउनुभयो । ‘केही दिन पानी परेर एक दिन घाम लागेपछि पुरै फूल कुहिएर झर्छ’, अध्यक्ष विसुङ्केले भन्नुभयो । अझै घामपानी लगातार भइरहेकोले बाँकी रहेको करिब २५ प्रतिशत फूल पनि झर्ने खतरा रहेकोसमेत विसुङ्केको भनाइ छ ।

रुद्राक्षको फूल बोटमै कुहिएर झर्न थालेपछि करोडौँको लगानी गरेका व्यवसायीहरू चिन्तित बनेका छन् । एकै बोटलाई करोड रुपियाँसम्म लगानी गरेर ठेक्का हालेका व्यवसायीहरूको लगानी डुब्ने खतरा बढेपछि व्यवसायीहरू चिन्तित बनेका हुन् । बोटमा फूल नै नरहेपछि फलको आशा सकिएको रुद्राक्ष व्यवसायी अर्जुन न्यौपानेको भनाइ छ । करोडको हाराहारीमा रुद्राक्षमा लगानी गरेको बताउँदै व्यवसायी न्यौपानेले लगानी फर्कने आशा मरेको बताउनुभयो ।

केही वर्षअघिसम्म बोटमा मात्र लगानी गर्दैआएका व्यवसायीहरूले यस वर्ष औषधिसमेत खरिद गरेर बोटमा छर्केका थिए । लाखौँ रुपियाँमा खरिद गरेर औषधि हालिए पनि फूल नै झरेपछि घाटाको मात्रा बढेर गएको हो । चीनबाट लाखाैँ रुपियाँमा ‘भिटामिन’ भनिएको रुद्राक्ष चिल्लो पार्ने औषधि खरिद गरेर बोटमा प्राय सबैले छर्केका थिए । तर फूल नै झरेपछि औषधिमा गरिएको लगानी पनि बालुवामा पानी भएको छ ।

सङ्खुवासभाको चेवाबेँसी, स्याबुन, याफु, चन्दनपुरलगायत क्षेत्रमा गुणस्तरीय रुद्राक्ष फल्दैआएको व्यवसायीहरू बताउँछन् । चिल्लो र ठूलो आकारको रुद्राक्ष चिनियाँ व्यापारीले खरिद गरेर लैजानेगरेका छन् भने मुखदार रुद्राक्ष भारत निर्यात हुने गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि व्यापारीहरूको आगमन नहुँदा रुद्राक्ष व्यवसाय खस्कने अनुमान गरिएको बेला अत्यधिक वर्षाका कारण उत्पादन घट्ने भएपछि सङ्खुवासभाको अर्थतन्त्रमा यसको ठूलो असर देखिने जानकारहरूले बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?