शिवराज ढुङ्गाना
अछाम, असार १४ गते । क्वारेन्टाइन बसेर घर फर्केका एक व्यक्तिको अछाममा उपचारका क्रममा मृत्यु भएको छ । रामारोशन गाउँपालिका–५ रामारोशनका ४५ वर्षीय व्यक्तिको उपचारका क्रममा बयलपाटा अस्पतालमा आइतबार मृत्यु भएको हो ।
शनिबार एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि उनलाई बयलपाटा अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका बेला मृत्यु भएको स्वास्थ्य कार्यालय, अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो । मधुमेहका बिरामी ती व्यक्तिले औषधिसमेत सेवन गरिरहेका अधिकारी जोशीको भनाइ छ ।
मृत्यु भएका व्यक्ति र उनीसँगै अस्पतालमा कुरुवा रहेका दुई जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब लिएर धनगढी पठाइएको छ । मृत्युसँगै क्वारेन्टाइनमा रहेका अन्य दुई जनामा आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि स्थानीयस्तरमै निर्माण गरिएको आइसोलेसन कक्षमा रहेका छन् ।
कोरोनासँग मिल्दो लक्षण देखिएपछि अस्पताल लगिएकाे रामारोशन गाउँपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी डम्बरबहादुर शाहले जानकारी दिनुभयो । भारतबाट आएर १४ दिन वडाको क्वारेन्टाइन बसेर असार ९ गते आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर गएको बताइएको छ ।
कैलालीको सीमा नाका गौरीफन्टा हुँदै जेठ २७ मा अछाम पुगेर वडामा रहेको कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेको बताइएको छ ।
पीसीआर रिपोर्ट नभएका कारण मृतकको दाहसंस्कारमा सेना आउने नभएका कारण गाउँमै व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गरेर दाहसंस्कारको तयारी भइरहेको उक्त गाउँपालिकाका स्वास्थ्य शाखाका डम्बरबहादुर शाहले जानकारी दिनुभयो ।
अछाममा हालसम्म परीक्षण गरिएकामध्ये हालसम्म १२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।