जनार्जन खत्री
सर्लाही, असार १५ गते । सर्लाहीको धनकौल गाउँपालिका–३, मा आइतबार साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा १५ जना बढी घाइते भएका छन् ।
सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) विश्वमणि पोखरेलले झडपमा १५ जनाभन्दा बढी घाइते भएका र उनीहरू सबैको जिल्ला अस्पताल, मलङ्गवामा उपचार भइरहेको जानकारी दिनुभयो ।
'राति झडपलाई नियन्त्रण गर्ने र घाइतेलाई उद्धार गर्ने काममै केन्द्रित भयौँ', प्रहरी उपरीक्षक पोखरेलले भन्नुभयो, 'अहिले बिहान ककसलाई गोली लागेको छ भन्ने पहिचान गर्दैछौँ ।' उहाँले झडपमा दुई जना प्रहरीसमेत घाइते भएकाे बताउनुभयो ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले चार सेल टियर अश्रुग्यास प्रहार गरेको एसपी पोखरेलको भनाइ छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले धनकौलकाे स्थिति सोमबार बिहान सामान्य रहेको बताउनुभयो । धनकौलमा पछिल्लो समय नेकपा र काँग्रेसका कार्यकर्ताबीच पटक–पटक झडपका घटना भइरहेका छन् । स्थानीय अन्नपूर्ण चिनी उद्योगबाट चिनी निकासीको विषयमा केही साताअघि मात्रै दुई पार्टीका कार्यकर्ताबीच झडप भएको थियो । आइतबार झडप हुनुको कारण भने प्रष्ट भइसकेको छैन् ।
धनकौलमा आइतबार साँझ नेकपाले रामनगरमा भएको हत्याको घटनालाई लिएर -याली निकालेको थियो । त्यही -यालीकै क्रममा आइतबार साँझ झडप भएको हो । एक साताअघि रामनगर गाउँपालिका–४, का ६० वर्षीय रामजल यादवको हत्या भएको थियो । यादव नेकपाका स्थानीय नेता हुन् ।
घटनापछि प्रहरीले रामनगर-४ का वडाध्यक्ष रामनरेश महतोलाई हिरासतमा लिएको छ । काँग्रेसले घटनाबारे सबैभन्दा पहिले प्रहरीलाई सूचना दिने वडाध्यक्षलाई बिना कारण राजनीतिक दबाबका आधारमा नियन्त्रणमा लिइएको दाबी गर्दैआएको छ भने नेकपाले वडाध्यक्ष महतोसँग बाटो बनाउने विषयमा विवाद भएपछि रामजलको हत्या भएको भन्दै घटना शङ्कास्पद रहेकाले छानबिन गर्न माग गर्दैआएको छ ।
मृतक रामजलका छोराले वडाध्यक्ष लगायतविरुद्ध जिल्ला प्रहरी कार्यालय मलङ्गवामा किटानी जाहेरी दिनुभएको छ । हत्याको घटना राजनीतिकरण भइरहँदा रामजलको शव अघिल्लाे साताको आइतबारदेखि जिल्ला अस्पतालको शवगृहमा छ ।
रामजलको हत्या भएको रामनगर गाउँपालिका र आइतबार साँझ झडप भएको धनकौल गाउँपालिका दुवै सर्लाहीको ४ नम्बर निर्वाचन क्षेत्रमा पर्छ ।