logo
२०८१ मंसिर १३ बिहीवार



नौगाडमा पहिरो खस्दा दुईकाे मृत्यु, पाँच घाइते, एककाे अवस्था गम्भीर

फिचर |


नौगाडमा पहिरो खस्दा दुईकाे मृत्यु, पाँच घाइते, एककाे अवस्था गम्भीर


लोकेन्द्र जोशी
दार्चुला, असार १५ गते । दार्चुलाको नौगाड गाउँपालिकामा नहर भत्किएर पहिरो खस्दा दुई जनाको ज्यान गएको छ, पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीका अनुसार, नौगाड गाउँपालिका वडा नं ४ होपरिगाडमा आइतबार राति नहर भत्किएर घरमा पहिरो खस्दा २५ वर्षीय चन्द्रसिंह महता र उहाँका चार वर्षीय छोरा सुशान्त महताको मृत्यु भएको छ । मृतक चन्द्रसिंह महताकी श्रीमती चनमती महतालाई गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाइएको छ ।

घरको माथि पहिरो खस्दा घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । झण्डै आधा दर्जन घरहरू पहिरोको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र साउदको नेतृत्वमा प्रहरी टोली खटिएर स्थानीयको सहयोगमा उद्धार कार्य गरिएको सूचना अधिकारी जोशीले बताउनुभयो ।

यसैबीच महाकाली लोकमार्गको गोकुलेश्वर-खलङ्गा सडकखण्डअन्तर्गत शैल्यशिखर नगरपालिका वडा नं. ६ पनेबाँजभन्दा तीन सय मिटर टाढा पनेखालामा सुख्खा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र पर्नुका साथै जनजीवन प्रभावित भएको छ ।

पनेबाँज र मार्मा गाउँपालिकामा गएको पहिरोका कारण सडक अवरुद्ध भएर यात्रुहरूलाई समस्या भएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?