धीरेन्द्रप्रसाद साह
राजविराज, असार १५ गते । लगातार पाँच दिनदेखि अविरल वर्षाले राजविराज नगरसहित जिल्लाका आधा दर्जन गाउँबस्ती जलमग्न भएको छ । भने स्तरोन्नति राष्ट्रिय आयोजनाको हुलाकी सडक खण्डको विभिन्न स्थानमा हिलाम्य भएका कारण बाटो अवरुद्ध भएको छ ।
पछिल्लो पाँच दिनयताको वर्षाका कारण राजविराज नगरको वडा नं १, ५, ६, ७ र ९ सहित टोलहरू जलमग्न भएका छन् । राजविराजको खैरसाल, पुलचौक, सिरहारोड, सरस्वती टोल, बिहारपुरलगायत जलमग्न हुँदा आवतजावतमा समस्या भोग्नुपरेको छ ।
यस्तै, अविरल वर्षाका कारण सप्तरीको दक्षिण भेगका आधा दर्जन गाउँबस्ती जलमग्न भएका छन् । दक्षिणपूर्वी भेगका तिलाठी, कोइलाडी, लोनियाँ, सकरपुरा, रम्पुरा र मल्हनियासहित आधा दर्जन बस्ती जलमग्न भएको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिनुभयो ।
बर्सेनि चुरे क्षेत्र हुँदै बग्ने खाँडो, महुली, जिता, त्रियुगा, बलान, अमाहा, सुन्दरीलगायत दर्जनौँ खोलामा आउने बाढीकै कारण जिल्लाका ती बस्तीहरू डुबानमा परेर ठूलो धनजनको क्षति हुने गरेको छ । ती खोलामा बाढीको बहाव रोक्ने गरी दुवै किनारमा तटबन्धको निर्माणको कार्य कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन जारी लकडाउनले प्रभावित हुँदा बाढी आउने खतरा रहेको स्थानीयवासी बताउँछन् ।
खाँडो, जिता र त्रियुगा नदीको बाढीका कारण बर्सेनि डुबानको समस्या झेल्दैआएका तिलाठी कोइलाडी गाउँपालिका अहिले उच्च जोखिममा परेको अध्यक्ष सिंहले बताउनुभयो । विगत दुई-तीन महिनादेखि कोरोना भाइरसका कारण जिल्ला त्रसित रहेको बेला लगातार परेको मुसलधारे वर्षाले गाउँपालिकाको आधा दर्जन गाउँमा बाढी पस्ने खतरा रहेको उहाँको कथन छ ।
खाँडो नदीले प्रत्येक वर्ष तिलाठी कोइलाडी गाउँपालिकाका अाठ वटै वडा डुबान हुने गरेको बताउँदै उहाँले बाढी आउनुभन्दा अघि नै सतर्कता अपनाउनुपर्ने आग्रह गर्नुभएको छ । खाँडो नदीको बाँधको काम केही ठाउँमा अधुरो रहेकाले बाढी सोझिएर पस्दा तिलाठी कोइलाडी थप डुबानमा पर्न सक्ने गाउँपालिका अध्यक्ष सिंहको भनाइ छ । खाँडो नदीमा आउने बाढी तिलाठी हुँदै भारत बिहारको कुनौली प्रवेश गर्छ । बाढीकै कारण २०७३ मा तिलाठी कोइलाडी-४ मा एक बालकको ज्यान गएको थियो भने हजारौँ घर बाढीले क्षति गरेको थियो ।
जिल्लाको विभिन्न नदीमा आउने बाढीले सप्तकोसी, कञ्चनरूप, हनुमाननगर कङ्कालिनी नगरपालिका, राजविराज नगरपालिकाका साथै अग्निसाइर कृष्णासवरण, महेदवा, तिरहुत र रुपनी गाउँपालिकाका दर्जनौँ गाउँबस्ती डुबानमा पर्ने गरेका छन् । लगातारको वर्षाले खाँडो, जिता, महुली, त्रियुगा, कोसी बलान, खडक नदीमा बाढीको बहाव उच्च रहेको भएपनि अहिलेसम्म बस्तीमा नपसेको बताइएको छ ।
यता वर्षाका कारण स्तरोन्नति भइरहेको राष्ट्रिय आयोजनाका हुलाकी सडक खण्डको जमुनी, विषहरीया, खुरहुरियामा हिलाम्मै भएको कारण ती स्थानहरूमा बाटो नै अवरुद्ध भएको भएको स्थानीय जिवछ दासले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आन्नद ठाकुरले जिल्लामा बाढीले क्षति गरेको सूचना कतैबाट नभएको तर पनि बाढी व्यवस्थापनका लागि आवश्यक तयारी अवस्थामा रहन सिँचाइ डिभिजन कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई निर्देशन भइसकेको जानकारी दिनुभयो ।