राजन रावत
सिमकोट, असार २१ गते । जिल्लाभरि एकसाथ सञ्चालन गरिएकाे शिविरमा ४९ हजार पशुकाे उपचार भएको छ । पशुवस्तुमा सम्भावित रोगहरू लाग्ने समय सुरु हुँदा उक्त रोगबाट बचाउनका लागि ठूलो सङ्ख्यामा पशुहरूको उपचार गरिएको हो ।
हुम्लाका छ वटा गाउँपालिकामा सुरु गरिएको पशु स्वास्थ्य शिविरको क्रममा ठूलो सङ्ख्यामा पशुहरूको उपचार भएको पशु अस्पताल तथा पशुसेवा सेवा कार्यालयका सूचना अधिकारी कृष्ण रोकायाले बताउनुभयो । शिविरमा पशुलाई लाग्ने रोगहरू विशेष गरी पीपीआर, रेबिज, एफडी, एचएसबीको चेकजाँच तथा उपचार गरिएको उहाँले बताउनुभयो । शिविरका क्रममा अदानचुलीमा सात हजार, चङ्खेलीमा १२ हजार, खार्पुनाथमा सात हजार तीन सय, ताँजाकोटमा सात हजार, सिमकोटमा छ हजार र सर्केगार्डमा १० हजार गरी ४९ हजार तीन सय पशुको उपचार गरिएको केन्द्रले जनाएको छ ।
शिविर सञ्चालन भएका यी गाउँपालिकाका ३९ हजार पशुहरूलाई विभिन्न किसिमका भ्याक्सिन पनि दिइएको सूूचना अधिकारी रोकायाले बताउनुभयो । अदानचुलीमा ७०, चङ्खेलीमा ७०, खार्पुनाथमा ६०, ताँजाकोटमा ५० र सर्केगार्डमा ५० गरी तीन सय कुकुरलाई रेबिजविरुद्धकाे भ्याक्सिन दिइएको छ । पशुमा विभिन्न रोग लाग्ने सिजन सुरु भएको कारण केन्द्रले शिविर सञ्चालन गरेर ती रोगविरुद्धको अभियान नै सञ्चालन गरिएको रोकायाले बताउनुभयो । त्यसै गरी उपचारका क्रममा दश हजार पशुलाई एचएमडी खोरेतको डोज पनि दिइएको छ । कोरोना कहरबीच यी शिविर सञ्चालन गर्न पशुस्वास्थ्यकर्मीहरू गाउबस्तीमा नै पुगेर उपचारमा संलग्न हुनुभएको हो । यसरी उपचार गरिएका पशुवस्तुमा भेडाबाख्रा, गाईरोरु, भैँसी, घोडा, झोपा, जुमा, गधा, खच्चड रहेका छन् ।