प्रदेश ५ ब्यूरो
बुटवल, असार २८ गते । निरन्तर भइरहेको वर्षाका कारण प्रदेश ५ का विभिन्न जिल्लामा थप क्षति पुगेकाे छ । प्रदेशका दाङ, पश्चिम नवलपरासी, गुल्मी, बाँके, अर्घाखाँचीलगायतका जिल्लाहरूमा वर्षा, बाढी, पहिरो र डुबानका कारण थप क्षति पुगेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले क्षतिको पूर्ण विवरण सङ्कलन भइरहेको जनाउँदै उद्धारका लागि जिल्ला जिल्लामा सुरक्षाकर्मीहरूका टोली सक्रिय रहेको बताउनुभयो ।
बबईमा बगेर दम्पती बेपत्ता
नेपालगञ्ज समाचारदाताका अनुसार निरन्तर भइरहेको वर्षाका कारण बाँके र बर्दियाका विभिन्न नदी र साना-ठूला खोलाहरूमा बाढी आएको छ । सो बाढीका कारण धेरै ठाउँमा आवागमन रोकिएको र केही ठाउँमा डुबानसमेत भएको दुवै जिल्लाका जिल्ला विपद व्यवस्थापन समितिहरूले जनाएका छन् ।
बर्दिया जिल्ला विपद व्यवस्थापन समितिका अनुसार लगातारको वर्षाले बर्दिया जिल्लाको बबई नदी लगायत मानखोला र अन्य साना खोलाहरूमा बाढी आएको छ ।
तीमध्ये सबैभन्दा ठूलो बाढी बबई नदीमा आएको जनाउँदै जिल्ला विपद व्यवस्थापन समिति, बर्दियाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बबईमा आएको बाढीमा बगेर ठाकुरबाबा नगरपालिका–४ का एक दम्पती बेपत्ता भएको बताउनुभयो ।
उहाँले बगेर ठाकुरबाबा नगरपालिका–४, बगनाहा गाउँका ३२ वर्षीय जितबहादुर थारू र उहाँकी श्रीमती २६ वर्षीया राजकुमारी थारू बेपत्ता भएको बताउनुभयो ।
सुरक्षा निकायका तालिम प्राप्त गोताखोरलाई परिचालन गरेर ती दुवैको खोजी कार्यलाई तीव्र पारिएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार बबई नदीको खैलार वनकट्टीघाट नजिकबाट उनीहरू बगेर बेपत्ता भएका हुन् ।
५४ घरपरिवार विस्थापित
तम्घास समाचारदाताका अनुसार गुल्मीमा पहिरोका कारण जोखिममा रहेका स्थानहरूको स्थलगत अध्ययन गर्नका लागि भुगर्भविद्को टोली गुल्मी आउने भएको छ ।
पहिरोका कारण जिल्लाको ईश्मा गाउँपालिका वडा नं १, ४ र ६ नं वडाका १९४ घरपरिवार र मुसिकोट नगरपालिकाका ५४ घरपरिवार विस्थापित छन् । असार १८ गते आएको पहिरोका कारण जोखिम रहेकाले त्यस क्षेत्रमा बस्न योग्य हुने वा नहुने भन्ने बारेको अध्ययनका लागि भूगर्भविद् आउने प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभयो ।
जोखिममा रहेकाहरूलाई स्थानीय विद्यालयमा राखिएको जिल्ला प्रशासन कार्यालय, गुल्मीले जनाएको छ ।
गत वर्ष साउन ७ गते सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक र लिम्घामा गएको पहिरोका कारण १३ जनाको मृत्यु भएको थियो ।
उच्च जोखिममा भर्थापुर
भैरहवा समाचारदाताका अनुसार नादव नदीमा निरन्तर बाढी बढेपछि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२, मर्चवारमा पर्ने भर्थापुर गाउँ उच्च जोखिममा परेको छ । नदीको बहाव बदलिएपछि स्थानीय खेत र बस्ती क्षेत्रमा डुबान भएको छ ।
आइतबार उक्त क्षेत्रको जमिन थप डुबानमा परेको छ तर क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको जिल्ला प्रशासनले जनाएको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले क्षति हुन नदिन तथा राहत र उद्धारका लागि सुरक्षाकर्मीको टोलीलाई तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।
लाखौँको क्षति
दाङ समाचारदाताका अनुसार अविरल वर्षाका कारण दाङमा लाखौँको क्षति भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं.–७ का विभिन्न स्थानमा वर्षाले लाखौँको क्षति पुर्याएको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले वडा नं.–७ ग्वार सुधा टोलका प्रज्ज्वल दुलालको दुईतले घरसँगै अनेक संरचनाहरूमा क्षति पुगेको बताउनुभयो । उहाँका अनुसार तुलसीपुर–७ झुमरेटोलका सचिव खिमबहादुर महतरा, कमला भण्डारी लगायतका घरहरू भत्किँदा ठूलो क्षति भएको छ ।
वर्षातका कारण तुलसीपुर–७ कै ज्ञानज्योति टोल फर्साराम पाण्डेको गोठ भत्किँदा करिब पाँच लाख बढी क्षति भएको तुलसीपुर–७ कार्यवाहक अध्यक्ष रामबहादुर जीसीले जानकारी दिनुभयो । त्यस्तै केही विद्यालयका संरचना, बाटो, नाली लगायतका संरचनाहरूमा क्षति पुगेको छ ।
सुस्ता क्षेत्रमा त्रास
परासी समाचारदाताका अनुसार अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्दैगएका कारण गण्डक ब्यारेजका तीस वटा ढोका खोलिएको छ ।
नेपाल भारतको बीचको नारायणी नदीमा बनेको गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये अहिले ३० वटा ढोका खोलिएको हो । नारायणीमा पानीको मात्रा बढ्दै गएपछि नेपालतर्फको नर्सही र सुस्ता क्षेत्रमा जोखिम बढेको छ ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले स्थानीयलाई जोखिमविरुद्ध सचेत रहन र सावधान भएर बस्न आग्रह गर्दै स्थानिय सरकारहरूलाई सहयोग र उद्धारमा लाग्न आग्रह गरिएको बताउनुभयो ।
ठाउँठाउँमा पहिरो
देउखुरी समाचारदाताका अनुसार लगातार पानी परेपछि दाङको लमही–कोइलावास हुलाकी सडककोे कालोपत्रे सडकका ठाउँठाउँमा पहिरो जाँदा ठूलो क्षति पुगेको छ । सडकमा पहिरो खसेपछि सडक र नालीहरू बिग्रिएका छन् । उक्त सडकको कालोपत्रे काम यही असार मसान्तसम्म काम सक्नुपर्ने थियो ।
साढे ३३ किलोमिटर सडकमध्ये साढे ३१ किलोमिटर क्षेत्रमा कालोपत्रे गरिसकिएको थियो । ७६ करोडको लागतमा सडक कालोपत्रेको काम थालिएको थियो ।
गढवा गाउँपालिकाका वडा नं. ८ का अध्यक्ष सद्दाम सिद्धिकीले पहाडी क्षेत्रमा निर्माणाधीन सडकमा पहिरो झरेर ठूलो क्षति पुर्याएको जानकारी दिनुभयो । “पहिरो झरेर नाली पुरिएको छ, पहिरोले ढाकेको सडक र नाली सफा गर्न ठेकेदारलाई भनेका छौँ ।”
सडक निर्माण कम्पनी कालिका-कुमार जेभीका साइड इञ्चार्ज राजेन्द्र श्रेष्ठले पहाडी क्षेत्रमा सडक कालोपत्रे र नाली बनाउँदा पानीको झरी र पहिरोले पर्याउने क्षतिलाइ आकलन गर्न नसक्दा ठूलो क्षति पुर्याएको बताउनुभयो । अहिले सडकमा पहिरो पन्छ्याउने काम थालिएको छ ।