logo
२०८१ मंसिर १३ बिहीवार



सवारी चालक, पार्टी प्यालेस सञ्चालक हुँदै सर्प विज्ञसम्म बन्नुभयाे भण्डारी

फिचर |
समाज |


सवारी चालक, पार्टी प्यालेस सञ्चालक हुँदै सर्प विज्ञसम्म बन्नुभयाे भण्डारी
सर्प समात्ने भण्डारीः सवारी चालक, भजन भण्डारी हुँदै सर्प विज्ञ बनेका यमलाल भण्डारी


शान्ता अधिकारी
चितवन, असार ३० गते । बन्दाबन्दीले होटल व्यवसाय, पार्टी प्यालेस विगत चार महिनादेखि बन्द छन् । सञ्चालक र कर्मचारी कामविहीन छन् । उनीहरुलाई फुर्सदै फुर्सद छ तर भरतपुर महानगरपालिका ४ छहारी बसपार्क नजिकै रहेको पार्टी प्यालेस सञ्चालक यमलाल भण्डारीलाई भने भ्याई नभ्याई छ । उहाँको यो भ्याई नभ्याई पार्टी प्यालेस भन्दा भिन्न कामको लागि हो । कहीँ कतै सर्प देखियो भने उहाँलाई बोलाइन्छ । लकडाउनको समयमा मात्र उहाँले ६४ वटा सर्प समात्नुभयो र नजिकैको जङ्गल क्षेत्रमा छोड्नुभयो । ती मध्ये तीन वटा अजिङ्गर थिए ।

बाध्यवाधन, गायनसँगै गाउँघरमा कलाकारको भूमिकासमेत निर्वाह गर्ने भण्डारीको एक दशकअघिसम्म मुख्य पेशा सवारी चालक थियो । त्यसपछि उहाँ पार्टी प्यालेससँग जोडिनुभयो । भजने भण्डारी, टुप्पी भण्डारी भनेर चिनिने उहाँ यतिबेला पार्टी प्यालेसका सञ्चालक भन्दा सर्प समात्ने भण्डारीको रुपमा परिचित भइसक्नु भएको छ ।

चार वर्ष अघि भरतपुर ४ को एक जुस पसल नजिकै सेना, प्रहरीसहित सरकारी कर्मचारीको ठूलो उपस्थिति थियो । एउटा अजङ्गको अजिङ्गर पसलबाट निस्केर नजिकैको परालको टौवामा पसेको रहेछ । त्यहाँ जाने आँट कसैले नगरिरहेको बेला भण्डारीले पराल तान्दै गर्दा अजिङ्गरको टाउकोमै समात्न पुग्नुभएछ ।

अचानक सर्पको टाउको समात्दा उहाँको सात्तो उडेको थियो । उहाँले त्यो स्मरण गर्दै भन्नुभयो, “डरत्राससँगै अनायसमै सर्प समात्न पुगेछु । अनायसमा भएको उक्त कामले म बेहोस जस्तै थिए । पछि भण्डारीले अजिङगर समात्यो भन्ने सुनेपछि म झल्यास्स भएँ । अनि त्यो अजिङ्गरलाई बोरामा राखेर वन कार्यालयको जिम्मा लगाइयो । त्यो अजिङ्गर २८ किलोग्राम तौलको थियो ।” अर्को वर्ष सोही ठाउँमा अर्को अजिङ्गर फेला प¥यो, त्यो पनि वन कार्यालयको जिम्मा लगाएपछि भण्डारीले सर्प समात्छ भनेर हल्ला चल्न थाल्यो । अहिले जताततैबाट सर्प देख्यो कि बोलाउने गर्छन् ।”
उहाँ आफूलाई सर्प विज्ञ र विशेषज्ञ नभई सर्पको संरक्षणको काम गर्ने व्यक्ति भनेर चिनिदिन अनुरोध गर्नुहुन्छ । र, भन्नुहुन्छ सर्प धेरै थरिका हुन्छन तर, धेरै थोरै मात्र विषालु हुन्छन् । विषालु सर्प प्रकृतिको लागि आवश्यक छन् त्यसैले सर्पलाई मार्न हँुदैन ।

बितेको चार वर्षको अवधिमा भण्डारीले पाँच सयभन्दा बढी सर्पलाई समातेर उनीहरुलाई उपयुक्त वासस्थानमा छोड्नु भएको छ । तीमध्ये पाँच वटा किङ कोब्रा (गौमन)लाई चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा, अजिङ्गरहरुलाई वन र निकुञ्ज कार्यालयको जिम्मामा र अन्य सर्पलाई समातिएको एक किलोमिटरको क्षेमा लगेर छोड्ेको उहाँ बताउनुहुन्छ ।
सुरुका दिनमा भण्डारीलाई सर्पको जात र त्यसको विषालु पन, आनीबानीको बारेमा केही थाहा थिएन ।

सर्प विशेषज्ञ डा. देव पाण्डे र सुनिल सापकोटासँग सर्पको बारेमा सिक्नुभयो । यूट्यूब र सर्पसम्बन्धी पुस्तकबाट यस बारेमा जानकारी लिनुभयो । दुई वर्ष यता कतिपय स्थानमा उहाँ डा. पाण्डेलाई लिएर जाने गर्नुभएको छ भने कतिपय ठाउँमा उहाँ एक्लै पुग्ने गर्नुभएको छ ।
सुरुका दिनमा लट्ठीको सहायताले मात्र सर्प समात्दै आउनुभएका भण्डारीले यतिबेला भने पञ्जा र सर्प समात्ने लजिष्टिकको प्रयोग गर्नुभएको छ । समातेकै समयमा छोड्न जिम्मा लगाउन पाईंदैन कि भनेर घरमै एउटा काठको बाकस बनाउनुभएको छ ।

सर्प समात्ने भण्डारी भनेर बोलाउँछन्, नजाने पनि कसरी त्यसैलाई समाज सेवाको रुपमा लिइयो तर, समात्न प्रयोग हुने भरपर्दो र सुरक्षित सामाग्री उहाँसँग छैन, चाहेर किन्नसमेत नपाएको गुनासो उहाँको छ । उहाँले आफूले गरेको काम नितान्त सामाजिक र पर्यावरणको लागि आवश्यक काम भएको बताउँदै भन्नुभयो, “अकालमा मानिसको ज्यान जोगाउन सकिने, पर्यावरणलाई पनि दीगो राख्न सकिने यो कार्यलाई स्थायित्व दिन स्थानीय सरकारको चासो हुनुपर्ने हो ।”

सर्प विशेषज्ञ डा. पाण्डेको भनाइमा सर्पको संरक्षण र यसको टोकाईबाट मानिसलाई बचाउन यसलाई मारेर होइन, संरक्षण र व्यवस्थापन गरिनुपर्छ । उहाँले भन्नुभयो, ‘सर्प पर्यावरण सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिकामा रहेको एक जीव हो, त्यसैले यसको संरक्षणको खाँचो छ । देख्नासाथ यसलाई मार्न होइन यसको व्यवस्थापन गर्नेतर्फ लागौँ ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?