दिपकप्रसाद गौतम
वीरगञ्ज, असार ३१ गते । वीरगञ्जको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचाररत एक जना कोरोना सङ्क्रमित युवकको उपचारको क्रममा बुधबार साढे ३ः३० बजे मृत्यु भएको छ ।
असार २९ गते राती १२ बजे देखि वीरगञ्जको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचार गराई रहेका रौतहटको परोहा नगरपालिकाका ३६ वर्षीय कोरोना सङ्क्रमित युवकको उपचारको क्रममा बुधबार ३ः३० बजे मृत्यु भएको अस्थायी कोभिड अस्पताल गण्डकका कोर्डिनेटर डा.उदयनारायण सिंहले गोरखापत्रलाई बताउनुभयो ।
भारतको बैङ्गलोरबाट असार २४ नेपाल छिरेका ती युवक रौतहटको परोहा नगरपालिकाको क्वारेन्टाइनमा बसेकै अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि वीरगञ्जको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा ल्याइएको चिकित्सक सिंहले बताउनुभयो ।
असार २९ गते उपचारको लागि ल्याएको बेलामा ती युवकको पीसीआर परीक्षणको रिपोर्ट आई नसकेकाले शङ्कास्पद कोरोना सङ्क्रमित उपचार गर्ने वार्डमा राखेर उपचार गरिएको र ३० गते पीसीआर रिपाेर्ट पोजिटिभ आएको अनि ३१ गते दिउँसो मृत्यु भएको चिकित्सक सिंह बताउनुहुन्छ ।
सामान्य ज्वरो र रुघाखोकी लागेका स्वास्थ्य देखिने अन्य कुनैपनि रोग नभएको युवक कोरोना भाइरसको सङ्क्रमणकै कारणले ज्यान गुमाएको बताउँदै अस्थायी कोभिड अस्पताल गण्डकका कोर्डिनेटर डा. उदयनारायण सिंहले भन्नुभयो, 'सायद नेपालमै यो पहिलो व्यक्ति हुनुपर्दछ जो कोरोना भाइरसको सङ्क्रमणकै कारणले मृत्यु भयो ।'
थप उपचारको लागि २९ गते नै वीरगञ्जको अस्थायी कोभिड अस्पतालमा ल्याइएको मा ३१ ग्ते बुधबार बिहान साढे ६.३० बजेदेखि श्वासप्रश्वासमा गडबडी देखिएको र चिकित्सकको अथक प्रयासपछि पनि बचाउन नसकिएको अस्थायी कोभिड अस्पताल गण्डकका कोर्डिनेटर डा. सिंहले बताउनुहुन्छ ।
भारतको बैङ्गलोरमा अचानक मृत्यु भएका आफ्ना दाइलाई १५ दिनअघि भेट्न भारतको बैङ्गलोरको अस्पताल पुगेर २४ गते ती युवक फर्किएका थिए । उनको दाइको मृत्युको कारण नखुले पनि कोरोना सङ्क्रमणबाट नै भएको हुनसक्ने अनुमान गरिएको छ ।
मृत्यु भएका युवकको शवलाई सम्बन्धित जिल्ला लैजानको लागि उक्त जिल्लामा रहेको नेपाली सेनासँग वीरगञ्जको नेपाली सेनाका अधिकारीले सम्पर्क गर्नुभएको र लैजाने तयारी भइरहेको चिकित्सक सिंहले जानकारी दिनुभयो ।